
काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले देशको अवस्था क्रमशः सामान्य बन्दै गएको ब्रिफिङ गरेकी छिन् । शुक्रबार नेपालस्थित कूटनीतिक प्रतिनिधिहरूलाई देशको अवस्थाबारे सामूहिक रूपमा जानकारी दिँदै कार्कीले देशको स्थिति सहज बन्दै भएको बताएकी हुन् ।
कार्कीले भनिन्, ‘नेपालको स्थिति क्रमशः सामान्य हुँदै गएको छ । यो हाम्रो जनताको अदम्य सहनशीलताको प्रमाण हो । तपाईँहरूले यो सकारात्मक सन्देश विश्व समुदायमा प्रवाह गर्न सहयोग पुर्याउनुभएमा हामी अत्यन्त आभारी हुनेछौँ ।’
उनले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिमा देशको स्थितिमा सुधार हुँदै गएको र त्यसबारे अन्तर्राष्ट्रिय समुदायसम्म जानकारी पुर्याइदिन आग्रह गरिन् ।
उनले यो सरकार गठन भएको एक महिना नपुग्दै, आफूहरूले प्रणालीभित्रको व्यापक भ्रष्टाचार र कु प्रशासन मात्र नभई सुधारको अपार सम्भावनासमेत देखेको बताइन् ।
उनले भनिन्, ‘यो सरकार गठन भएको एक महिना नपुग्दै, हामीले प्रणालीभित्रको व्यापक भ्रष्टाचार र कु प्रशासन मात्र होइन, सुधारको अपार सम्भावनासमेत देखेका छौँ, यही अवसर हो विश्वास पुनर्निर्माण गर्ने, संस्थागत सुदृढता ल्याउने, र शासन प्रणालीलाई पारदर्शिता र सेवामुखी दिशातर्फ लैजानेछ ।’
विश्वासिलो वातावरणमा चुनाव गराउन सरकार लागि परेको जानकारी कार्कीले कूटनीतिक प्रतिनिधिहरूलाई गराइन् । सुरक्षाको अवस्थामा सुधार गरेर चुनावका लागि विश्वासिलो वातावरण बनाउँदै गएको जिकिर उनले गरिन् ।