Harsamaya
पहिलो सगरमाथा आरोहण अभियानका अन्तिम जीवित सदस्य कान्छा शेर्पा रहेनन्
पहिलो सफल सगरमाथा आरोहण अभियानका अन्तिम जीवित सदस्य कान्छा शेर्पाको बिहीवार बिहान काठमाडौंस्थित आफ्नै निवासमा ९२ वर्षको उमेरमा निधन ।

काठमाडौं - सन् १९५३ मा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गेको नेतृत्वमा सम्पन्न पहिलो सफल सगरमाथा आरोहण अभियानका अन्तिम जीवित सदस्य कान्छा शेर्पाको बिहीवार बिहान काठमाडौंस्थित आफ्नै निवासमा ९२ वर्षको उमेरमा निधन भएको छ ।

परिवारका अनुसार, आंग फुर्बा ‘कन्चा’ शेर्पा बिहीवार बिहान करिब २ः०० बजे स्वर्गीय भएका हुन् । शेर्पाले आफ्ना अन्तिम दिनहरू आफ्नो पैतृक घर नाम्चे बजारमा बिताएका थिए । जुन सगरमाथाको प्रवेशद्वारका रूपमा चिनिन्छ ।

नेपाल पर्वतारोहण संघ (एनएमए) का अध्यक्ष फुर ग्याल्जे शेर्पाले भने,‘कान्छा’ शेर्पाको निधनले हामीलाई गहिरो शोक दिएको छ । सगरमाथाको पहिलो सफल आरोहणको इतिहाससँग जोडिएका यी महान व्यक्तित्वको अनुपस्थिति अद्वितीय क्षति हो । नेपाली पर्यटन क्षेत्रमा यसले अपूरणीय क्षति गरेको छ ।’

कान्छा शेर्पा सन् १९३२ मा नाम्चेमा जन्मिएका थिए । १९ वर्षको उमेरमा कामको खोजीमा घरबाट भागेर भारतको दार्जिलिङ पुगेका उनको त्यहाँ तेन्जिङ नोर्गे शेर्पासँग भेट भएको थियो ।

तेन्जिङले उनलाई सन् १९५२ को सगरमाथा अभियानका पर्वतारोहीको छोरा भएको थाहा पाएपछि सन् १९५३ को सर एडमन्ड हिलारीको अभियानमा सामेल गराएका थिए । यस अभियानमा उनी १०३ जना शेर्पामध्येका एक थिए र दैनिक पाँच रुपैयाँ पारिश्रमिक पाउँथे ।

कान्छा शेर्पाले सन् १९७३ सम्म पर्वतारोहण अभियानमा काम गरे र पछि पत्नीको अनुरोधमा अवकाश लिएका थिए । त्यसपछि उनले हिमालयका ट्रेकिङ समूहसँग मार्गदर्शन गर्दै यात्रुहरूलाई सहयोग गरिरहे ।

कान्छा शेर्पा स्वयं सगरमाथाको शिखरमा पुग्न सक्न सकेनन् । तर अभियानको सफलतामा महत्वपूर्ण भूमिका निभाए । उनी अन्तिम शिविर (हालको साउथ समिट) सम्म पुगेका थिए ।

सन् २०२० मा राष्ट्रिय समाचार समिति (रासस) सँगको अन्तर्वार्तामा उनले अभियानका प्रारम्भिक दिनहरूको सम्झना गर्दै भनेका थिए, ‘हामी भक्तपुरबाट ३५ जना आरोही र ४०० भरियाहरूसँग निस्कियौं । बाटो थिएन, होटल थिएन, केवल पैदल यात्रा र भुटेको मकै खान्थ्यौं ।’

क्याम्प १ सम्म पुग्ने मार्ग निर्माण सबैभन्दा चुनौतीपूर्ण काम भएको उनले उक्त अन्तरवार्तामा बताएका थिए । खुम्बु आइसफलमा गहिरो दरार आएको थियो । ‘हामीसँग सीढी थिएन । त्यसैले हामी नम्चे फर्कियौं, दस वटा पाइनको रुख काट्यौं, बोकेर माथि लग्यौं र काठको पुल बनायौं ।’

उनका अनुसार, त्यतिबेला सगरमाथालाई नेपालीमा आधिकारिक रूपमा ‘सगरमाथा’ भनिएको थिएन; स्थानीयहरूले त्यसलाई ‘चोमोलुङ्मा’ भनेर चिन्थे । अभियानले क्याम्प चार स्थापना गरेपछि हिलारी र तेन्जिङ शिखरमा पुग्न अघि बढेका थिए ।

१९५३ मे २९ मा करिब १ बजे रेडियो संदेशमार्फत उनीहरूको सफलताको पुष्टि भयो । कान्छाले सम्झिए, ‘हामी नाच्यौं, अँगालियौं र चुम्बन गर्यौं। त्यो पूर्ण आनन्दको क्षण थियो ।’

उनको योगदानको मूल्याङ्कन गर्दै दैनिक आठ रुपैयाँ पारिश्रमिक दिइएको थियो । कान्छा शेर्पाको निधनसँगै पहिलो सफल सगरमाथा अभियानका सबै सदस्यहरू अब यस संसारमा छैनन् । - एएनआई

प्रकाशित मिति: शुक्रबार, असोज ३१, २०८२  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update