
सर्लाही - सर्लाहीको कौडेनामा जनप्रतिनिधिले आफन्त र नातेदारलाई प्राथमिकता दिएर राहत बाँडेको आरोप लागेपछि बाढी पीडितहरू आन्दोलित भएका छन् । बुधबार पीडितहरूले पूर्व–पश्चिम हुलाकी राजमार्ग अवरुद्ध गर्दै वास्तविक पीडितलाई मात्र राहत वितरण गर्न माग गरेका हुन् ।
असोज १८ गतेको भारी वर्षाले लखन्देखी खोलामा आएको बाढीले कौडेना गाउँपालिका ३, पर्सा टोललगायत क्षेत्र डुबानमा परेका थिए ।
पीडितहरुले राहत वितरणमा जनप्रतिनिधिका नजिकका मानिसहरू लाभान्वित भएको र वास्तविक पीडित भने बेवास्ता गरिएको गुनासो गरेका छन्। एक जना पिडितले भने, ‘जसका घरमा पानी पस्यो, ऊ भोक भोकै छ, जसको घरमा पानि नै पसेको छैन, ऊ राहतमा पाईरहेको छ ।’
राहत वितरणमा पक्षपात भएको विरोधमा महिला, पुरुष र बालबालिकासहित स्थानीयवासीले सडकमा उत्रिएर चक्काजाम गरेका थिए । बाढीले अतिप्रभावित बनाएका कौडेना, रामनगर र बलरा क्षेत्रमा अहिले विभिन्न गैरसरकारी संस्थाहरूले राहत वितरण गरिरहेका छन् ।