पर्वत - पर्वतको सदरमुकाम कुश्मामा बाँदरले एक अस्ट्रेलियन नागरिकसहित दुई जनाको राहदानी नै गायब पारिदिएको छ ।
बाँदरले अष्ट्रेलियाबाट नेपाल घुम्न आएका वाल्मस्ली मेथो आडम्स र उनकी श्रीमती दिब्या कार्कीको राहदानी राखेको झोलानै गायब बनाएको हो ।
पर्वतको कुश्मास्थित बन्जी साइडमा द क्लिफले सञ्चालनमा ल्याएको बञ्जि र अर्को शाहशिक खेल जीपलाइन अवलोकनका लागि आइपुगेका पर्यटक चढेको गाडीको छतमा रहेको राहदानीसहितको झोला बाँदरले लिएर भिरतिर भागेको पीडित पर्यटकले बताएका छन् ।
आडम्स र कार्कीले एउटै झोलामा राहदानीसहित अन्य महत्वपूर्ण कागजात राखेका थिए । राहदानी बाँदरले लगेको जानकारी गराएपछि खोजीका लागि प्रहरी खटाइएको प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए । उनका अनुसार शनिबार र आइतबार खोजी गर्दा पनि झोला भेटिएको छैन ।
‘शनिबार उहाँहरू मुक्तिनाथ जान निस्किनुभएको रहेछ । कुश्मामा बन्जी घुम्न गएको बेलामा झोला गाडीको छतमा राखिएको रहेछ,’ उनले भने, ‘फर्किँदा उक्त झोला नरहेको र बाँदरले लगेको जानकारी गराउनुभएको छ ।’
खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको थियो तर भेटिएको छैन ।

