Harsamaya
तीन वडामा छ समूह गठन, वृक्षरोपण सम्पन्न, ट्यांकी र बाख्राको खोर निर्माण हुँदै
‘जलवायु अनुकूलनमा आदिवासी जनजाति महिलाको नेतृत्व क्षमता विकास परियोजना’ को अन्तर्किया कार्यक्रम ।

सिन्धुपाल्चोक - इन्द्रावती गाउँपालिकाका आदिवासी जनजाति महिलाहरू जलवायु परिवर्तनका असरहरूमा अनुकूलन र नेतृत्व विकासतर्फ सशक्त बन्दै गएका छन्।

‘जलवायु अनुकूलनमा आदिवासी जनजाति महिलाको नेतृत्व क्षमता विकास परियोजना’ अन्तर्गत शुक्रबार गाउँपालिकाको कार्यालय नवलपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष शोभाना तामाङ, निमित्त प्रमुख प्रशासकीय अधिकृत मीन धामी, तथा विभिन्न जनप्रतिनिधिहरूको उपस्थिति थियो।

यो परियोजना सलासन नेपाल र आदिवासी वातावरणीय अनुसन्धान केन्द्र नेपालले क्यानडा सरकारको साझेदारीमा, आदिवासी जनजाति महिला उत्थान केन्द्र सिन्धुपाल्चोक र राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चसँग सहकार्यमा एक वर्षअघि सुरु गरेको हो।

तीन वडाका छ समूह सशक्त बने
एक वर्षको अवधिभित्र परियोजनाअन्तर्गत टाकुरे, आपचौर, नरानथान र सल्लाघारी क्षेत्रमा गठन गरिएका महिला समूहहरूले वृक्षरोपण गर्नुका साथै समुदायमा जलवायु सचेतना अभिवृद्धि गर्ने कार्य सम्पन्न गरेका छन्।

इन्द्रावतीमा रहेका ६ वटा आदिवासी महिला कृषक समूहका अध्यक्ष र प्रतिनिधि महिलाहरूले आफ्ना समूहमार्फत स्थानीय अनुकूलनका ठोस कार्यहरू अघि बढाएको जानकारी दिए। कार्यक्रममा उनीहरूले गत वर्ष सम्पन्न भएका कार्ययोजना र आगामी योजनाहरू पनि प्रस्तुत गरे।

त्रिपक्षीय छलफल र वातावरणीय प्रस्तुति
गाउँपालिका, परियोजना प्रतिनिधि र महिला समूहबीच त्रिपक्षीय अन्तरक्रिया र छलफलमार्फत जलवायु परिवर्तनका चुनौती र समाधानबारे विस्तृत विचारविमर्श गरिएको छ।

वातावरणविद् विजय सिंहले ‘इन्द्रावती गाउँपालिकाको सामुदायिक जलवायु कार्ययोजना’ प्रस्तुत गर्दै स्थानीय स्तरमा व्यवहारिक र दीगो उपायहरूबारे सुझाव दिए। गाउँपालिकाकी उपाध्यक्ष शोभाना तामाङले भनिन्, ‘यो परियोजनाले महिलाको क्षमता र आत्मविश्वास अभिवृद्धि गरेको छ। आगामी आर्थिक वर्षमा गाउँपालिकाले यसलाई सम्मान र प्रोत्साहनका रूपमा समेट्नेछ।‘

वडा नं. ४ का अध्यक्ष क्षेत्रबहादुर तामाङले निरन्तर सहयोगको प्रतिबद्धता जनाए भने वडा नं. ५ का अध्यक्ष शशिनाथ आचार्यले समूहहरू अनुकरणीय बन्ने विश्वास व्यक्त गर्दै सामूहिक जिम्मेवारीका साथ जलवायु सचेतना बढाउन आग्रह गरे। त्यस्तै वडा सदस्य शम्भुप्रसाद कोइरालाले विद्यालयस्तरदेखि नै वातावरणीय सन्देश फैलाउन आवश्यक रहेको औंल्याए।
निमित्त प्रमुख प्रशासकीय अधिकृत मीन धामीले विद्यालयदेखि समुदायसम्म सन्देश पुर्‍याउने क्षमताको विकास नै सशक्तिकरणको मूल आधार भएको बताए।

स्थानीय अनुकूलनको उदाहरण
सहभागीहरूले यो परियोजनालाई स्थानीय अनुकूलन र महिलाको नेतृत्व विकासको सफल उदाहरणका रूपमा मूल्याङ्कन गरेका छन्। एक वर्षभित्रै परियोजनाले गाउँबस्तीमा वातावरणीय सचेतना, वृक्षरोपण, जलस्रोत संरक्षण र आर्थिक सशक्तिकरणका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको निष्कर्ष निकालिएको छ।

त्यस्तै, कृषि प्राविधिकको उपस्थितिमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा परियोजनालाई थप सशक्त बनाउँदै समुदायस्तर अझ सबल बनाउने विषयमा पनि छलफल गरिएको थियो। अन्तरक्रिया कार्यक्रममा परियोजना का जिल्ला फिल्ड संयोजक पानमाया तामाङले सहजीकरण गरेका थिए र इन्द्रावती मा संचालित परियोजना का समाजिक परिचालक शिला तामाङ को पनि सहभागीता रहेको थियो।

प्रकाशित मिति: शनिबार, असोज २५, २०८२  ०८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update