Harsamaya
इजरायल र हमासबीच युद्धविराम सहमति, पहिलो चरणमा २० इजरायली बन्दी जीवितै मुक्त गरिने

काठमाडौं - इजरायल र हमासबिच युद्ध विराम सहमति भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा बनेको शान्ति योजनाको पहिलो चरणमा दुवै पक्ष युद्ध विराम गर्न सहमत भएका हुन् । बीबीसीका अनुसार इजरायल र हमासबिचको सम्झौतामा बिहीबारको दिन इजिप्टमा हस्ताक्षर हुनेछ । जस अन्तर्गत पहिलो चरणमै २० जना इजरायली बन्दीहरूलाई जीवितै मुक्त गरिनेछ । गाजामा मानवीय सहायता पुगोस् भनेर पाँचवटा नाका तुरुन्त खोलिनेछ । 

एसोसिएटेड प्रेस (एपी)का अनुसार, हमासले यो साता नै सबै २० जना जीवित बन्दीहरूलाई मुक्त गर्नेछ । इजरायली सेना गाजाका अधिकांश भागबाट फिर्ता हुँदै छ ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस सम्झौता अनुसार सबै बन्दीहरूलाई चाँडै मुक्त गरिनेछ र इजरायलले आफ्ना सैनिकहरूलाई निश्चित सीमासम्म फिर्ता बोलाउनेछ, जुन स्थायी र दिगो शान्तितर्फको पहिलो बलियो कदम हुनेछ । सबै पक्षसँग निष्पक्ष व्यवहार गरिनेछ ।’

यस सम्झौताको ग्यारेन्टी अमेरिका, इजिप्ट, कतार र टर्कीले दिएका छन् । यसबाट दुवै पक्षले सम्झौताको सर्त पालना गरिरहेसम्म पुनः आक्रमण सुरु नहुने बताइन्छ ।

यसैबीचमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोनमा कुरा गरेका छन् । उनीहरूले आपसी सहकार्यलाई निरन्तरता दिने सहमति पनि जनाएका छन् । प्रधानमन्त्री नेतन्याहूले राष्ट्रपति ट्रम्पलाई इजरायली संसद (केनेसट) मा सम्बोधन गर्न निमन्त्रणा दिएका छन् ।

 

प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२  ०७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update