
जनकपुर - विगत केही दिनदेखि धनुषाको जनकपुरधाम उपमहानगरपालिका २० रुपैठमा भइरहेको हिन्दु र मुस्लिम समुदायबिचको विवादमा सर्वपक्षीय बैठकले तत्काल केही निर्णयहरू गरेको छ ।
आज जनकपुरधामस्थित अधिकृत संगमको सभा हलमा बसेको सर्वपक्षीय बैठकले रुपेठामा भइरहेको हिन्दु र मुस्लिम समुदायबिचको विवादको समाधानका लागि विभिन्न निर्णयहरू गरेको छ ।
बैठकपश्चात् सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले रुपेठामा रहेको मुख्य विवादको जड तेलिया पोखरीमा नगरपालिकाको मात्र अधिकार रहने बताए ।
मेयर साहले तेलिया पोखरी नेपाल सरकारको सम्पत्ति रहेको र यसको अब पश्चात् सम्पूर्ण रेखदेख जनकपुरधाम उपमहानगरपालिकाले आफ्नो स्वामित्वमा गर्ने बताए । उनले सो विवादित पोखरीमा कुनै समुदायले कुनै किसिमको संरचना निर्माण गर्न नपाउने जानकारी दिए । मेयर साहले सो पोखरीलाई जनकपुरधाम उपमहानगरपालिकाले सौन्दर्यीकरण गर्ने बताए ।
बैठकले रुपेठमा भएको हिन्दु र मुस्लिम समुदायबिचको विवादमा ढुंगामुढा गर्ने, घर जलाउने, सिसाको बोतल फ्याल्ने लगायतमा संलग्न सबै जनालाई पक्राउ गरी कानुन बमोजिम सजाय दिइने निर्णय गरेको छ ।