Harsamaya
दक्षिणी चीनमा ‘तुफान माट्मो’ को प्रभावः २ लाख ७१ हजारभन्दा बढीको स्थानान्तरण
चीनमा ‘तुफान माट्मो’ ।

काठमाडौं - दक्षिण चीनमा आएको ‘तुफान माट्मो’ का कारण २ लाख ७१ हजार ५०० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

२०२५ प्रशान्त टाइफुन मौसमको २१ औँ नाम दिइएको आँधी ‘तुफान माट्मो’ आइतबार दिउँसो करिब २:५० बजे ग्वाङ्डोङ प्रान्तको झानजियाङ सहरस्थित जुवेन काउन्टीको पूर्वी तटीय क्षेत्रमा प्रवेश गरेसँगै दक्षिण चीनका विभिन्न क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरिएको छ ।

ग्वाङ्डोङ मौसम सेवा अनुसार आँधीको केन्द्रमा अधिकतम हावाको वेग प्रतिसेकेन्ड ४२ मिटर पुगेको थियो भने केन्द्रीय न्यूनतम वायुमण्डलीय दबाब ९६५ हेक्टोपास्कल मापन गरिएको थियो । आँधीको प्रभावका कारण ग्वाङ्डोङले आफ्नो तुफान आपतकालीन प्रतिक्रिया प्रणालीलाई सबैभन्दा उच्च स्तरमा बढाएको छ ।

राष्ट्रिय दिवस र मध्य–शरद उत्सवको आठ दिने विदा आइतबार पाँचौँ दिनमा प्रवेश गर्दा रेलवे प्राधिकरणले यात्रु सुरक्षाका लागि रेल मार्गमा अस्थायी परिवर्तन, सञ्चालन स्थगन लगायतका कदम चालेको छ ।

ग्वाङ्सी झुवाङ स्वायत्त क्षेत्रमा सबै तटीय यात्री डुङ्गा मार्गहरू बन्द गरिएका छन् । उक्त क्षेत्रमा रहेको वेइझोउ टापुबाट करिब २६ हजार पर्यटकलाई सुरक्षित स्थानमा सारिएको छ । त्यहाँका तटीय आयोजना र बन्दरगाहका काम पनि रोकिएका छन् । 

ग्वाङ्सी समुद्री प्रशासनले आइतबार बिहानै सबैभन्दा उच्च स्तरको आपतकालीन प्रतिक्रिया सक्रिय गर्दै २० हजारभन्दा बढी माछा मार्ने डुङ्गा बन्दरगाह फर्काएको छ भने ८८९ वटा अन्य जहाजलाई बन्दरगाहमै सुरक्षित गरेको छ ।

हाइनान प्रान्तमा मात्र आइतबार दिउँसोसम्म १ लाख ९७ हजारभन्दा बढी नागरिकलाई उच्च जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको छ । हाइनानका पानी आपूर्ति विभागहरूले बिजुली आपूर्ति सुनिश्चित गर्न ३ हजार ९०० भन्दा बढी आपतकालीन जेनेरेटर, तेल, बिजुली उत्पादन गाडी र अन्य सामग्री उपलब्ध गराएको छ ।

हाइकोउ सहरका ७१ वटा होटलहरूले प्रभावित पर्यटकका लागि छुटसहितको सेवा उपलब्ध गराइरहेका छन् । यसैबीच, राष्ट्रिय विकास तथा सुधार आयोगले ग्वाङ्डोङ र हाइनानमा आपतकालीन पुनःस्थापना कार्यका लागि देशको केन्द्रीय बजेटबाट २०० मिलियन युआन (करिब २८ मिलियन अमेरिकी डलर) उपलब्ध गराएको छ ।

प्रकाशित मिति: सोमबार, असोज २०, २०८२  १०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update