Harsamaya
नारायणगढ-मुग्लिन सडक खण्ड पूर्ण रूपमा अवरुद्ध

चितवन - नारायणगढ-मुग्लिन सडक खण्डको तीन स्थानमा पहिरो खस्दा दुबैतर्फ सडक अवरुद्ध भएको छ ।  पहिरोको जोखिमका कारण हिजो साँझ ६ बजेदेखि नै यस क्षेत्रमा जिल्ला सुरक्षा समितिले गाडी चलाउन रोकेको थियो । चितवनका प्रहरी प्रवक्ता डिएसपी रवीन्द्र खनालका अनुसार अहिले तुइनखोला , कालीखोला तथा फिस्लिङ देखि उत्तर खण्डमा समेत पहिरो खसेको छ ।

जसका कारण दुबैतर्फ सडक अवरुद्ध रहेको छ । तीन स्थानमा अहिले पनि पहिरो तथा ढुङ्गा खसिरहेको छ ।  पहिरो गएका स्थानमा बाटो खुलाउने काम पनि भइरहेको  उनले जानकारी दिए ।

यसका साथै धादिङ , तनहुँका विभिन्न सडक खण्डमा समेत पहिरो खसेर बाटो अवरोध भएकोले काठमाडौं जाने सडक पूर्ण रूपमा अवरुद्ध रहेको जनाइएको छ ।

चितवन प्रहरीले बाटो पन्छाएर सञ्चालनमा नआउँदासम्म हिजोदेखि होल्डिङ सेन्टरमा रहेका यातायातका साधनलाई सोही स्थानमा रहन अनुरोध गरेको छ ।

 

प्रकाशित मिति: आइतबार, असोज १९, २०८२  ०७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update