
काठमाडौं - गृह मन्त्रालयले देशभरका राजमार्गमा रोकिएका सवारीसाधनलाई सडक र मौसमको अवस्थाअनुसार गन्तव्यसम्म पुर्याउने गरी सहजीकरण गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
मन्त्रालयले सबै प्रमुख जिल्ला अधिकारीलाई आज पत्राचार गरी आवश्यकताअनुसार यात्रुलाई स्थानीय तह तथा संघ संस्थासँगको समन्वयमा खानपानको व्यवस्था मिलाउन पनि आग्रह गरेको छ । राजमार्गमा रोकिएका एम्बुलेन्सलाई अवस्था हेरी सुरक्षित गन्तव्यसम्म पुर्याउन, बाटोमा अलपत्र परेका गर्भवती महिलालाई नजिकको ‘बर्थिङ सेन्टर’सम्म पुर्याउन व्यवस्था मिलाउनका लागि पनि निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।
बाढी पहिरोको जोखिमपूर्ण स्थानमा बसोबास गरिरहेका व्यक्ति तथा परिवारलाई स्थानीय पालिकासँगको समन्वयमा नजिकको विद्यालय एवं खुला स्थानमा स्थानान्तरणको व्यवस्था मिलाउन पनि मन्त्रालयले निर्देशन दिएको छ । मौसमका कारण उडान स्थगित भई विमानस्थलबाट फर्केका यात्रुलाई यातायात व्यवसायीसँगको समन्वयमा आवश्यक परिवहनको व्यवस्था मिलाउन पनि निर्देशन दिएको मन्त्रालयका उपसचिव निशानराज गौतमले जानकारी दिए ।
बाढी पहिरोका कारण तत्काल हेलिकप्टरबाट उद्धार गर्नुपर्ने भएमा मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखामा सम्पर्क गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देश गरिएको पनि उनले सुनाए ।
प्रतिकूल मौसमलाई मध्यनजर गर्दै वर्षातका कारण बाढीपहिरो तथा डुबानको जोखिममा रहेका जिल्लाको हकमा प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका प्रमुखलाई २४ सैं घण्टा कार्यालयमा उपस्थित हुने व्यवस्थाका लागि परिपत्र गरिएको छ ।