Harsamaya
गाजामा युद्ध विरामका लागि ट्रम्प र नेतान्याहू सहमत
गाजामा युद्ध विरामका लागि ट्रम्प र नेतान्याहू सहमत ।

काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू गाजामा युद्ध विरामका लागि सहमत भएका छन् ।

दुवै नेताले सोमबार राति वासिङ्टनमा आयोजित पत्रकार सम्मेलनमार्फत  जानकारी दिएका हुन् । ट्रम्पले युद्ध विरामका लागि २० बुँदे योजना सार्वजनिक गर्दै यदि हमासले यसलाई स्वीकार गर्दैन भने, इजरायलसँग उसलाई समाप्त गर्ने सम्पूर्ण अधिकार छ र त्यसमा अमेरिका साथ दिने चेतावनी दिएका छन् । 

यस्तै नेतान्याहूले भने, ‘गाजामा शान्तिपूर्ण प्रशासन हुनेछ, हमासका सबै हतियार हटाइनेछन् र इजरायल क्रमशः पछि हट्नेछ। सजिलो वा कठिन जुनसुकै बाटोबाट भए पनि यो कार्य सम्पन्न हुनेछ, हमासले मानेन भने इजरायल आफैँ पूरा गर्नेछ।’

उता, हमासले भने आफूहरूलाई औपचारिक प्रस्ताव प्राप्त नभएको र हतियार नछाड्ने स्पष्ट पारेको छ । 

पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति ट्रम्पले दिएको जानकारीअनुसार, योजनामा गाजामा युद्ध रोक्ने, सबै बन्दीलाई छोड्ने र अस्थायी प्रशासनिक बोर्ड गठन गर्ने प्रस्ताव छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले सार्वजनिक गरेको २० बुँदामा के के छ ?

१. तत्काल युद्ध रोक्ने : यो सहमति भएसँगै गाजामा युद्ध तुरुन्त अन्त्य हुनेछ ।

२. इजरायलको फिर्ती : सहमति अनुसार इजरायली सेना क्रमशः गाजाबाट फिर्ता गरिनेछ ।

३. बन्दीमुक्ति : हमासले ७२ घण्टाभित्र सबै इजरायली बन्दी (जिउँदा वा मृत) छोड्नुपर्नेछ ।

४. कैदी मुक्त : युद्धपछि इजरायलले २५० आजीवन कारावासी र १७०० अन्य कैदीलाई मुक्त गर्नेछ ।

५. शव आदान–प्रदान : प्रत्येक मृत इजरायली बन्दीको सट्टा १५ गाजावासीको शव फिर्ता दिइनेछ ।

६. गाजालाई आतंकमुक्त बनाउने : सबै आतङ्कवादी आधार र हतियार हटाइनेछ ।

७. हमास प्रशासनमा होइन : हमास र अन्य ‘आतङ्कवादी’ले गाजाको सरकारले भाग लिन पाउने छैनन् ।

८. अस्थायी प्रशासन समिति : योग्य व्यक्तिहरूको प्राविधिक समिति गठन हुनेछ ।

९. शान्ति बोर्ड : अमेरिकी राष्ट्रपति ट्रम्पको अध्यक्षतामा टोनी ब्लेयरसहितको अन्तर्राष्ट्रिय बोर्ड बन्नेछ ।

१०. पुनर्निर्माण योजना : गाजाको विकासका लागि योजना बनाइनेछ र खर्च बोर्डले व्यहोर्नेछ ।

११. मानवीय सहायता : तत्काल पर्याप्त सहयोग पुर्‍याइनेछ ।

१२. विशेष व्यापार क्षेत्र : रोजगारी बढाउन गाजामा व्यापारिक क्षेत्र स्थापना गरिनेछ ।

१३. जनताको स्वतन्त्रता : गाजा छोड्न वा फर्किन कसैलाई बाध्य पारिनेछैन ।

१४. सुरक्षा बल : अन्तर्राष्ट्रिय सुरक्षा बलले गाजामा शान्ति कायम गर्नेछ ।

१५. पुलिस तालिम : उक्त सुरक्षा बलले गाजा प्रहरीले प्रशिक्षण पाउनेछ ।

१६. सीमा सुरक्षा : इजरायल र मिस्रबीचको सीमा सुरक्षा कडा पारिनेछ ।

१७. लडाइँ बन्द : युद्ध समाप्त नभएसम्म हवाई आक्रमण र तोपबारी रोकिनेछ ।

१८. मानवअधिकार :अन्तर्राष्ट्रिय संस्थाले सहयोग र सुरक्षाको निगरानी गर्नेछन् ।

१९. शान्ति वार्ता : इजरायल र प्यालेस्टाइनबीच वार्ता सुरु गरिनेछ ।

२०. भविष्य योजना : स्थायी शान्ति, विकास र राम्रो जीवन सुनिश्चित गर्ने उद्देश्य रहनेछ ।

 

प्रकाशित मिति: मंगलबार, असोज १४, २०८२  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update