काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले बडादशैँको टीका जमरा नलगाउने बताएकी छिन् । आज सन्देश जारी गर्दै उनले हालै सम्पन्न युवापुस्ताको आन्दोलनको क्रममा धेरै युवाहरूले आफ्नो ज्यान गुमाउनु परेको पीडा सबैसामु ताजै रहेको हुनाले आफूले टीका जमरा नलगाउने र देशवासीहरूलाई समेत टीका लगाउने कार्यक्रम नरहेको जानकारी गराएकी हुन् ।
उनले भनेकी छन्, ‘बडादशैँ प्रत्येक वर्ष हर्षोल्लासका साथ मनाउने चाड भए तापनि हालै सम्पन्न युवापुस्ताको आन्दोलनको क्रममा धेरै युवाहरूले ज्यान गुमाउनु परेको पीडा पनि हाम्रासामु ताजै छ ।
युवापुस्ताहरूको अभूतपूर्व आन्दोलनको जगमा वर्तमान सरकार गठन भएको र यस सरकारले तोकिएको मितिमा प्रतिनिधिसभाको निर्वाचन गर्न कटिबद्ध रहेको एवं देशमा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको पनि उनको भनाई छ ।
साथै, उनले यस सन्दर्भमा समग्र राष्ट्रको कल्याणका लागि दुर्गा भवानीले शक्ति प्रदान गरून् भने कामना गर्दै मुलुकमा सुख शान्ति, स्थायित्व, सुशासन र समृद्धिको मार्गमा अघि बढ्ने र देश विकासमा लाग्न सबैमा अपिल पनि गरेकी छन् ।
उनले बडादशैँ २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई शुभकामना पनि व्यक्त गरेकी छन् ।

