
काठमाडौं - गृह मन्त्रालयले जेनजी प्रदर्शनमा भएका अराजक गतिविधिमा संलग्नलाई कारवाही नगर्न प्रहरीलाई निर्देशन दिएको छ । जेजनी आन्दोलनको दोस्रो दिन भदौ २४ गते सिंहदरवार, सर्वोच्च अदालत लगायत सरकारी कार्यालय तोडफोड, लुटपाट र आगजनी गर्नेहरूको फोटो, भिडियो संकलन गर्दै प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएपछि गृह मन्त्रालयले प्रहरीलाई कारवाही नगर्न निर्देशन दिएको हो।
गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा काठमाडौंलगायत मुलुकका विभिन्न भागमा भएका भौतिक एवं मानवीय क्षतिको यथार्थ छानविन गर्न उच्चस्तरीय छानबिन आयोग गठन भएकाले सोही आयोगले सत्यतथ्य छानबिन गर्ने भन्दै प्रहरीलाई तत्काल कारवाही अघि नबढाउन भनेको छ । प्रहरीले काठमाडौंबाट तोडफोड लुटपाटमा संलग्न एक सयभन्दा बढी पक्राउ गरेपछि गृहले यस्तो विज्ञप्ति निकालेको हो ।
जेनजी आन्दोलनमा प्रहरीका हातहतियार, पोशाक, चोरी गरिएको थियो भने प्रहरी कार्यालयसमेत तोडफोड र आगजनी गरिएको थियो । आन्दोलनका क्रममा तीन जना प्रहरीलाई कुटीकुटी मारिएको थियो ।
प्रहरी कार्यालयमा आगो लगाउनुपर्छ भनेर बोल्नेलाई पनि सामाजिक सञ्जालमा आएका भिडियो हेर्दै प्रहरीले धमाधम कानुनी दायरामा ल्याइरहेको अवस्थामा गृह मन्त्रालयले जेनजीको आन्दोलनमा सहभागी भएकाहरूलाई दु:ख दिनु हुँदैन भन्दै पक्राउ नगर्न निर्देशन दिएको हो । यो विज्ञप्तिले २३ गते प्रदर्शनकारीमाथि गोली चलाउन दिने र भदौ २४ गते अराजकता फैलाउँदै सरकारी र व्यक्तिगत सम्पत्ति तोडफोड गर्नेले तत्काल उन्मुक्ति पाएका छन् ।
सुशासन र भ्रष्ट्राचारीलाई कारबाही गर्ने भन्दै बनेको यो सरकारको कार्यले भदौ २३ र २४ गतेका दोषीमाथि कारबाही होला या नहोला अन्योलता बढाएको छ ।