Harsamaya
वेस्ट इन्डिजविरूद्ध नेपालकाे ऐतिहासिक जित, वेस्ट इन्डिज १९ रनले पराजित
नेपालद्वारा वेस्ट इन्डिज १९ रनले पराजित गरेपछि नेपाली खेलाडी।

काठमाडौं - युएइमा आयोजित पहिलो टी-२०आई खेलमा नेपालले  ऐतिहासिक जित निकालेको छ । शनिबार भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएर  नेपालले ऐतिहासिक जित हासिल गरेको हो । 

नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो । नविन विदायसीले सर्वाधिक २२ रन बनाए । अमिर जाङ्गो र किएसी कार्टीले समान १९ रन बनाए । नेपालका लागि कुशल भुर्तेलले ४ ओभरमा १७ रन दिएर २ विकेट लिए। त्यस्तै कप्तान रोहित पौडेल, करण केसी, दिपेन्द्रसिंह ऐरी र नन्दन यादवले एक-एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १४८ रन बनाएको हो । नेपालका लागि कप्तान रोहित पौडेलले ३५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३८ रन बनाए । कुशल मल्लले २१ बलमा २ चौका र २ छक्कासहित ३० रन बनाए । गुल्शन झाले २२ रन बनाए । दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए ।

१२ रनमै २ विकेट गुमेको अवस्थाबाट रोहित र मल्ल मिलेर तेस्रो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए । यद्यपि फिनिसिङ राम्रो हुन नसक्दा नेपाल १५० भित्रै रोकियो ।

वेस्ट इन्डिजका लागि जेसन होल्डरले ४ ओभरमा २० रन दिएर ४ विकेट लिए । डेब्यू गरेका नविन विदायसीले ४ ओभरमा २९ रन दिएर ३ विकेट लिए । कप्तान अकिल होसेनले १ विकेट लिए ।

नेपालले भारत, अफगानिस्तान, बंगलादेशजस्ता टोलीसँग कुनै मुख्य प्रतियोगिताहरूमा मात्र खेल्ने अवसर पाएको छ । हालसम्म फूल मेम्बरलाई हराउन भने सकेको थिएन ।

 

प्रकाशित मिति: आइतबार, असोज १२, २०८२  ०६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update