
काठमाडौं - सिन्धु युएसए वेलफेयर सोसाइटीले यस वर्ष एसईई २०८१ मा ४ जिपिए ल्याउने सिन्धुपाल्चोकका उत्कृष्ट विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ ।
विगतमा एक-एक छात्र र छात्रालाई मात्र सम्मान गर्ने परम्परा रहेपनि, यस वर्ष ६ जना विद्यार्थीलाई सामूहिक सम्मान गरिएको हो । प्रत्येक विद्यार्थीलाई १७ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कमल कुमार श्रेष्ठले बताए ।
सम्मानित विद्यार्थीमध्ये तीन जना बालशिक्षा माध्यामिक विद्यालयका स्मृति नेपाल, सुभेच्छ्या श्रेष्ठ र मेन्दो तामाङ रहेका छन् । त्यसैगरी प्रशान्त चालिसे (प्रगति बोर्डिङ स्कुल, मेलम्ची), फुर्साङ तामाङ (रमा मावी, लिसंखुपाखर) र रोजिना स्याङताङ (ज्ञान मन्दिर नमुना मावी, मेलचौर) पनि पूर्ण जिपिए हासिल गर्न सफल भएका थिए ।
कार्यक्रममा सोसाइटीका निवर्तमान अध्यक्ष सूर्य खड्कालाई समेत सम्मान गरिएको थियो । खड्काको कार्यकालमै उत्कृष्ट विद्यार्थीलाई नगदसहित सम्मान गर्ने परम्परा सुरु भएको हो ।
हाल सोसाइटीमार्फत सिन्धुपाल्चोकका २६ जना असहाय विद्यार्थी विभिन्न निजी विद्यालयमा निःशुल्क शिक्षा हासिल गरिरहेका छन् । सोसाइटीका वर्तमान अध्यक्ष पासाङ नोर्बू शेर्पाले परदेशमा भए पनि आफ्नो जन्मभूमिका बालबालिकाको शिक्षामा योगदान गर्न पाउँदा खुसी लागेको बताए । कार्यक्रममा विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।