
काठमाडौँ - नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्वमन्त्री डा.आरजु राणा आज अस्पतालबाट डिस्चार्ज हुँदैछन्। जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीद्वारा शारीरिक दुर्व्यवहारमा परेका दुवैजनाको स्वास्थ्यमा उल्लेख्य सुधार भएको चिकित्सकहरूले जनाएका छन्।
स्वकीय सचिव भानु देउवाका अनुसार डिस्चार्जपछि उनीहरूको अस्थायी बसोबास ललितपुरमा हुनेछ। सानेपा वा जावलाखेलमध्ये कुनै एक स्थान रोजिने उनले जानकारी दिए।
बूढानीलकण्ठस्थित क्षतिग्रस्त निवास पुनःनिर्माणमा समय लाग्ने भएकाले अस्थायी रूपमा बसाइँसराइ गर्न लागिएको हो। आवास व्यवस्थापनका लागि राष्ट्रियसभा सदस्य जितजंग बस्नेत सक्रिय छन्।
प्रदर्शनका क्रममा सभापति देउवाको गर्धनमा धारिलो हतियार प्रहार भई आठवटा टाका लगाइएको थियो भने डा. राणाको पनि गर्धनमा चोट लागेको थियो। अहिले टाँका खोलिएको र अन्य समस्या नभएकाले दुवैलाई डिस्चार्ज गर्न लागिएको हो।