Harsamaya
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सांकेतिक तस्वीर: हर समय/Har Samaya

कर्णाली - ट्रकको ठक्करबाट सुर्खेतमा एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ । पहिचान नखुलेका चालकको आज करिब १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढथापाका अनुसार भेरीगङ्गा नगरपालिका–१२ सुर्खेतमा पर्ने रत्न राजमार्गअन्तर्गत छिन्चु–धुलियाबिट सडक खण्डको पाडुलेमा ना५ख ५६०८ नम्बरको ट्रकले वीरेन्द्रनगरतर्फ आइरहेको लुम्बिनी प्रदेश ०३–००१प ३६३१ नम्बरको बुलेट मोटरसाइकललाई ठक्कर दिएको थियो । नाम नखुलेका करिब २२ वर्षीय घाइते चालकको उपचारको क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको उनले बताए । 

मोटरसाइकलमा पछाडि सवार पञ्चदेवल विनायक नगरपालिका–४ अछामका १९ वर्षीय दमन शाही पनि घाइते भएका छन् । घाइते शाहीको माया मेडिकलहल छिन्चुमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रवक्ता बुढ्थापाले बताए । ठक्कर दिने ट्रकसहित २७ वर्षीय चालक ईश्वर मस्र्याङ्गीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, असोज ६, २०८२  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update