
सुर्खेत - वीरेन्द्रनगर नगरपालिकाले १२ दिन पछि सेवा प्रवाह सुरु गरेको छ ।
जेन–जी आन्दोलनकारीले भदौ २४ गते वीरेन्द्रनगर नगरपालिकासहित १२ वटा वडा कार्यालयमा आगजनी र तोडफोड भए पछि नगरपालिकासहित वडा कार्यालयको सेवा ठप्प भएको थियो ।
सेवा प्रभावित भएको १२ दिन पछि आइतबारदेखि नगरपालिका कार्यालयबाटै सबै वडाको सेवा प्रवाह थालिएको नगर प्रमूख मोहनमाया ढकालले बताइन् ।
आगजनी र तोडफोड गरिएका वडा कार्यालयको पुर्ननिर्माण, मर्मत र पूर्वाधारहरुको तयारीका लागि समय लाग्ने भएकाले नगरबासीको सेवामा अवरोध हुन नदिन नगरपालिकाबाटै सेवा प्रवाह गर्न थालिएको नगरप्रमूख ढकाललेको भनाई छ ।
‘वडा कार्यालयहरु बनाउन समय लाग्ने र सबै कागजातहरु पनि जलेर नष्ट भएकाले नगरपालिकाबाटै सेवा सुरु गरिएको छ’ उनले भनिन्, ‘हाललाई नगरपालिकाका केही कोठा र नगरपालिकासंगै जोडिएको जिल्ला समन्वय समितिका केही कोठा भाडामा लिएर नागरिकलाई सेवा दिईने छ ।’
जेन–जी आन्दोलनका क्रममा भएको आगजनीमा नगरपालिका र वडा कार्यालयका जिन्सी तथा सवारीसाधनमा क्षति पुगेको छ । वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर १ देखि १२ का सबै वडा कार्यालय जलेर ध्वस्त भएपछि सेवा प्रवाह रोकिएको थियो । वडा कार्यालयबाट हुने जन्म–मृत्युदर्ता, नागरिकता सिफारिस, कर संकलन जस्ता दैनिक कामहरुसमेत प्रभावित भएका थिए ।
नगरपालिकाको झण्डै ३ करोडको क्षति
भ्रष्टाचारविरुद्ध युवाहरूले गरेको आन्दोलनका क्रममा भदौ २४ गते वीरेन्द्रनगर नगरपालिका कार्यालयमा २ करोड ७५ लाख बराबरको क्षती भएको छ । वीरेन्द्रनगरका १२ वटा वडा कार्यालयको क्षती मुल्यांकन भई रहेको छ । यसले वीरेन्द्रनगरको क्षती धेरै बढ्ने अनुमान गरिएको छ । आन्दोलनमा उत्रिएका युवाहरूले नगरपालिका कार्यालयमा आगजनी र तोडफोड गरेका थिए ।
नगरपालिकाको भवन तथा कोठा, फर्निचर तथा फिक्चर्सका सामाग्री, इलेक्ट्रोनिक्स तथा इलेक्ट्रोनिक, सवारी साधन तथा अन्य विद्युतीय उपकरण र सामाग्रीहरु गरी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट नगरपालिकाको दुई करोड ७५ लाखको क्षती भएको प्रारम्भिक अनुमान गरिएको नगरपालिकाका जिन्सी शाखा प्रमूख खड्क बहादुर केसीले जानकारी दिए ।
‘नगरपालिका मातहतको सिटी हलको क्षतीको विवरण पनि यसमा समावेश छ’ केसीले भने, ‘आन्दोलनका क्रममा नगरपालिकाका १२ वटा वडा जलाइएका छन्, वडाको क्षती मुल्याङ्कन भई रहेको छ ।’