Harsamaya
तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई कारबाही गर्न शान्ति समाजको माग 

काठमाडौं - मानव अधिकार तथा शान्ति समाजले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतलाई कारबाही गर्न माग गरेको छ । आइतबार ४४ औँ अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै समाजले जेनजी प्रदर्शनका क्रममा अन्धाधुन्ध गोली चलाई दर्जनौँ निहत्था नागरिकको हत्याको जिम्मेवार तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री लेखक लगायत भएको भन्दै कानुनी कारबाहीको माग गरेको हो । 

विज्ञप्तिमा लेखिएको छ,‘ मुलत भ्रष्टाचारको विरोधमा जेनजीद्वारा आह्वान गरिएको भदौ २३/२४ को प्रदर्शनका क्रममा अन्धाधुन्ध गोली चलाई दर्जनौँ निहत्था नागरिकको हत्याका लागि जिम्मेवार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक लगायतलाई कानुनी कारबाही थाल्नुपर्छ ।’

त्यस्तै  जनधनको अपार क्षति सम्बन्धमा उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न पनि समाजले माग गरेको छ । 

साथै समाजले जेनजीको आह्वानमा भएको उक्त आन्दोलनको सफलता पश्चात् तत्कालीन सरकारले आत्म समर्पण गरिसकेको अवस्थामा पनि भदौ २४ गते भएको राज्यका विभिन्न धरोहरसहित सार्वजनिक सम्पत्ति, प्रेस तथा नागरिकका निजी सम्पत्तिमा भएको आगजनी, तोडफोड र लुटपाटका घटनामा संलग्नहरूको पहिचान गरी दण्डित गर्नुपर्ने धारणा राखेको छ । 

राज्यको ढुकुटी दोहन गर्दै पूर्व विशिष्टहरूलाई उपलब्ध गराउँदै आएको सेवा र सुविधा तत्काल कटौती गर्न समाजको माग छ । 

प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  १०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update