Harsamaya
देउवाको सचिवालयले भन्यो - सामाजिक सञ्जालमा देखाईएका दृष्यहरू कपोकल्पित, अतिरञ्जित र भ्रामक हुन्
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ।

काठमाडौं - नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा पैसा भेटिएको भन्ने समाचार कपोकल्पित भएको उनका स्वकीय सचिव भानु देउवाले स्पष्ट पारेका छन् । उनले बिहीबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा फैलाइएका आधारहीन हल्लाप्रति आपत्ति जनाएका हुन् ।

बदनाम गराउने उदेश्यले विषेश गरी सामाजिक संजालहरूमा फैलाइएका हल्लामा कुनै सत्यता नभएको सचिवालयले स्पष्ट पारेको छ ।

विज्ञप्तिमा भाद्र २३ र २४ गते भएको जेन–जी आन्दोलनलाई धमिलो पार्ने उद्देश्यले विभिन्न समूहहरूले आपराधिक गतिविधि सञ्चालन गरेको आरोप लगाइएको छ । भाद्र २४ गते बिहानैदेखि विभिन्न दलका कार्यालय र नेताहरूको निवासमा आक्रमण गर्नुका साथै सभापति देउवाको निवासमा समेत डकैती शैलीमा प्रवेश गरी देउवा र उनकी पत्नी केन्द्रीय सदस्य डा. आरजु राणा देउवासहितमाथि आक्रमण भएको थियो । 

तर त्यसपछि देउवा निवासमा अत्यधिक पैसा भेटिएको, जलेका नोटका अंश भेटिएको र पैसाको सुरूङ्ग रहेको भन्ने समाचारलाई देउवाको सचिवालयले असत्य र भ्रामक भन्दै खण्डन गरेको छ । ‘घरभित्र रहेको अण्डरग्राउन्ड ट्याङ्कीलाई अन्य अर्थ लगाएर प्रचार गरिएको छ, तर त्यो साधारण पानी ट्याङ्की मात्र हो,’  विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, जलेका नोटका विभिन्न दृश्यलाई प्रविधि प्रयोग गरी सम्पादित गरेर युट्युब र सामाजिक सञ्जालमा प्रसारण गरिएको दाबी सचिवालयले गरेको छ । यस्ता बदनाम गर्ने नियतले फैलाइएको भ्रामक सूचनाको पछि नलाग्न पनि सचिवालयले अनुरोध गरेको छ ।

download-1758213036.jpg
 

प्रकाशित मिति: बिहीबार, असोज २, २०८२  २२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update