Harsamaya
जेनजीको आन्दोलन : भ्रष्टाचारविरुद्धको आवाज कि देश ध्वस्त पार्ने घुसपैठ ?
जेनजी आन्दोलनबारे के भन्छन् दलका कार्यकर्ताहरू।

काठमाडौं - काठमाडौं उपत्यकामा सेप्टेम्बर ८ देखि सुरु भएको जेन–जी पुस्ताको ‘नेपोबेबीज’ अभियानले मुलुकलाई केही घन्टामै हल्लाइदियो । सामाजिक सञ्जालमा सुरु भएको अभियानले देशव्यापी आन्दोलनको रुप लिँदा काठमाडौंसहित देशका विभिन्न ठाउँमा प्रदर्शन, आगजनी र तोडफोडका घटनाहरु घटे । मुलुकका मुख्य संरचना सिंहदरबार, संसद भवन, सर्वोच्च अदालतदेखि राजनीतिक दलका कार्यालयहरू समेत आगजनीमा परे । 

लगातार ४८ घन्टा चलेको आन्दोलनपछि शान्ति सुरक्षाका लागि नेपाली सेना सडकमा तैनाथ गरिएको छ । काठमाडौंसहितका विभिन्न जिल्लामा कर्फ्यू आदेश जारी छ ।आन्दोलनले देशव्यापी तरंग पैदा गरेपछि विभिन्न राजनीतिक दलका नेताहरू र कार्यकर्ताहरूका प्रतिक्रिया आउन थालेका छन् ।  पार्टीहरुको पछिल्लो अवस्थाको फिल्ड रिर्पोटिङमा एमाले पार्टीकी सदस्य प्रतिक्षा तिवारीले जेनजीको आन्दोलनको उद्देश्यप्रति समर्थन जनाएकी छन् । उनले जेनजीको मागहरू न्यायोचित रहेको बताउँदै देशभक्त युवाहरूको भावना सही भएपनि आन्दोलनमा घुसपैठ गरी देशलाई ध्वस्त पार्ने काम भएको आरोप लगाइन् ।

उनले भनिन्, ‘देशमा व्यापक रूपमा भ्रष्टाचार र शुसासनको अभाव छ भन्ने विषय जेनजीले उठाएको आन्दोलन स्वागतयोग्य हो । तर आन्दोलनको नाममा जसरी सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड भयो, त्यो दुःखद छ । राष्ट्रका संरचनाहरु, सार्वजनिक सम्पत्तिहरु जले । तर मलाई लाग्छ यो जेनजीको वास्तविक माग थिएन । आन्दोलनमा बाह्य शक्तिको घुसपैठ देखिन्छ ।’

यसैगरी आन्दोलनको नाममा भएको हिंसा र तोडफोडप्रति तिवारीले गहिरो आपत्ति जनाइन् । ‘देशको संरचना, सार्वजनिक सम्पत्ति र राष्ट्रिय धरोहरहरू जलाइयो, तोडफोड गरियो—यो कुनैपनि हालतमा जायज हुन सक्दैन । आन्दोलनमा बाह्य शक्तिहरू र निहित स्वार्थ बोकेका समूहहरूले घुसपैठ गरेको स्पष्ट देखिन्छ,’ उनले भनिन् ।

उनका अनुसार, जेनजी आन्दोलनको वास्तविक उद्देश्य राष्ट्रलाई ध्वस्त पार्नु थिएन । ‘जेनजीले त्यो किसिमको हिंसात्मक कार्य गरेका पनि छैनन् । तर उनीहरूको नाममा गलत समूहले भौतिक संरचनाहरू ध्वस्त पार्ने काम गरेका छन् । यस्तो कार्यप्रति म घोर भत्र्सना गर्छु,’ तिवारीले भनिन् ।

तिवारीले नेपालमा सुशासन, पारदर्शिता र विकासको आवश्यकता अपरिहार्य रहेको बताउँदै आन्दोलनका मूल मागहरूमाथि सरकार र सम्बन्धित निकायले गम्भीर ध्यान दिनुपर्ने बताइन् । उनले आन्दोलनका नाममा लोकतन्त्र र संविधानलाई मासेर कुनै नयाँ व्यवस्था ल्याउन नसकिने बताइन् ।

उनले चेतावनी दिँदै भनिन्, ‘हामी रोजगारी, शिक्षा, विकासका कुरा गर्दैछौं,तर आन्दोलनका नाममा लोकतन्त्र र संविधानलाई मासेर हामीले कुनै नयाँ व्यवस्था ल्याउन सक्दैनौं । लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र बनाऔं । आज राष्ट्र र राज्यका सम्पत्तिहरु र धरोहरहरु ध्वस्त भएका छन् । रोजगारीका कुराहरु गर्दैछौं, विकासका कुरा गर्दैछौं, तर यसले देशलाई १०÷२० वर्ष पछाडि धकेलिदिएको छ ।’

यसैगरी एमाले कार्यकर्ता नवराज श्रेष्ठले आन्दोलनको कारण देशले ठूलो भौतिक र संस्थागत क्षति बेहोरेको स्वीकार गरे । तर उनले यसलाई गम्भीर ‘परिवर्तनको संकेत’का रूपमा पनि हेर्नुपर्ने बताए ।

‘हाम्रो पार्टी कार्यालयमा महत्त्वपूर्ण कागजातहरू थिए, लाखौं कार्यकर्ताका विवरण थिए ।  संरचना जलेर नष्ट भयो । तर अब परिवर्तनको लहर आएको छ, यसलाई नकार्न सकिँदैन ।’
श्रेष्ठले यस्तो आन्दोलन आउनुका पछाडि लामो समयदेखि चलखेल र शासकीय तहमा लापरवाही भएको कारण हुन सक्ने बताए ।

‘जेनजी प्रदर्शनको कुरा एकदमै गम्भीर छ । जेनजीहरुलाई मात्र दोष दिएर उम्किन पाउने अवस्था छैन । यो घटना हुनुभन्दा अगाडि एमाले र काङ्ग्रेसले देश चलाई रहेको अवस्था थियो । यो घटना हुनुभन्दा अगाडिदेखि नै चलखेलहरु भइरहेको थियो । त्यो अवस्था सरकार प्रमुखले बुझ्नलाई ढिलाइ गरेको जस्तो अनुभव गरेका छौं । यदि माथिल्लो तह र सुरक्षा निकायले यो विषयलाई पहिलादेखि नै गम्भीर भएर हेरेको भए सायद यति ठूलो घटना देशले भोग्नु पर्दैन् थियो होला ।’

यसैगरी कोशी प्रदेश कांग्रेसका प्रदेश सम्मेलन सदस्य कैलाश केसीले आन्दोलनको सुरुवाती चरणमै घुसपैठ भएको र त्यसकै कारण जनधनको ठूलो क्षति भएको बताए । उनले भने, ‘सुरुमा नै नियोजित षड्यन्त्रसहित आन्दोलनलाई भड्काइएको हो । यसमा बाह्य शक्तिको पनि हात देखिन्छ । सुरक्षा संयन्त्रले पनि आफ्नो जिम्मेवारी पूरा गर्न सकेन ।’

केसीका अनुसार कांग्रेसको पार्टी कार्यालय पूर्ण रूपमा ध्वस्त भएको छ । उनले जनसम्पत्तिमा भएको क्षतिको न्यायिक छानबिन गर्दै दोषीमाथि कडा कारबाहीको माग गरे  । कांग्रेस महाधिवेशन प्रतिनिधि नविन लामाले जेनजी आन्दोलनलाई आम नेपाली जनताको मुद्दा भएको बताए । उनले भने, ‘भ्रष्टाचारविरुद्धको आन्दोलन सबै नेपालीको साझा एजेन्डा हो । तर यसमा घुसपैठ गरेर आन्दोलनलाई हिंसात्मक बनाइएको छ । पार्टी कार्यालय, सार्वजनिक सम्पत्ति जलाउनु दुःखद र निन्दनीय छ ।’

उनका अनुसार आन्दोलनमा संलग्न जेनजी युवाहरूको उद्देश्य विध्वंस नभई सुधार थियो । तर उनीहरूलाई ढाल बनाएर स्वदेशी तथा विदेशी तत्वहरूले घुसपैठ गराएको आरोप उनले लगाए ।

लामाले सुरक्षा संयन्त्रको भूमिकामाथि पनि प्रश्न उठाए । ‘राष्ट्रपतिको सुरक्षा गर्न सक्ने निकायले भवनहरूको सुरक्षा गर्न नसक्नु गम्भीर कमजोरी हो,’ उनले भने ।

यसैगरी कांग्रेस जिल्ला कार्यसमिति सदस्य राजु पाथिकले पनि आन्दोलनको मूल माग सकारात्मक भएको बताए । उनका अनुसार जेनजी आन्दोलन भ्रष्टाचार विरुद्धको आवाज थियो, जुन सबै राजनीतिक दलको साझा एजेन्डा हो । तर उनले पनि आन्दोलनमा आन्तरिक र बाह्य चलखेल भएको स्पष्ट संकेत गरे ।

‘सार्वजनिक सम्पत्ति जलाउनु कुनै हालतमा जायज होइन,’ उनले भने, ‘तर त्यो कार्य जेनजीका युवा विद्यार्थीले गरेका हुन् भनेर म मान्दिन । माइतीघरबाट बानेश्वरसम्म पुगेपछि हेल्मेट लगाएका, मास्कधारी समूहले आगजनी गरेका हुन् ।’

पाथिकका अनुसार माओवादी जनयुद्धको समयमा पनि यति धेरै सरकारी सम्पत्ति जलिएको उनले देखेका थिएनन् । उनले भने, ‘देश अहिले आर्थिक रूपमा कमजोर अवस्थामा छ । संविधानको रक्षा गर्दै त्यसको सीमाभित्रबाटै समाधान खोज्नुपर्छ ।’

नेताहरूले संसद विघटनको चर्चा नउठाउन चेतावनी दिंदै संविधानकै दायराभित्र रहेर समाधान खोज्नुपर्ने बताएका छन् । संसद विघटनले देशलाई फेरि ३० वर्ष पछाडि धकेल्न सक्ने उनीहरूको भनाइ छ ।

राजनीतिक नेताहरूको साझा धारणा यस्तो छ कि जेनजी आन्दोलनले उठाएका मुद्दाहरू उचित र सुधारमुखी थिए । तर आन्दोलनको नाममा भएको हिंसा, तोडफोड र आगजनीले जनतासँगै राजनीतिक दलहरूलाई पनि गम्भीर प्रश्नको सामना गराएको छ । अबको प्राथमिकता संविधानको रक्षा गर्दै समस्याको शान्तिपूर्ण समाधानमा केन्द्रित हुनुपर्नेमा उनीहरूको जोड छ ।

जेनजीले सुरु गरेको आन्दोलनले देशमा व्यापक बहस जन्माएको छ । एकातिर भ्रष्टाचार, नातावाद, शासकीय बेथिति विरुद्धको आवाज उठाउने यो आन्दोलनले युवा पुस्ताको चेतनशीलता देखाएको छ भने अर्कातिर आन्दोलनमा घुसपैठ गरी गरिएको हिंसा र तोडफोडले आन्दोलनको नैतिक धरातलमा प्रश्न उठाएको छ ।

- आकांक्षा धामी 

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update