
काठमाडौं - पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले अन्तरिम सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई समर्थन गरेका छन् ।
शुक्रबार सामाजिक सञ्जालमा कार्कीको फोटोसहितको वक्तव्य जारी गर्दै भट्टराईले कार्की सक्षम र स्वच्छ व्यक्तित्व भएको बताए ।
कार्कीले वर्तमान संविधानको जगमा टेकेर संविधानका पालनकर्ता र संरक्षक राष्ट्रपतिले विधिवत् शपथ ग्रहण गराएर अहिलेको अन्योल र आशंका अन्त्य गर्नुपर्नेमा भट्टराईले जोड दिएका छन् ।
‘नयाँ नेपालको नेतृत्व गर्न उद्यत जेन–जीका नवयुवाहरूले अन्तरिम सरकारको नेतृत्व गर्न पूर्वप्रधानन्यायाधीश तथा सक्षम र स्वच्छ व्यक्तित्व सुशीला कार्कीलाई सिफारिस गर्नु अत्यन्त सकारात्मक र सही छ । वहाँलाई सम्पूर्ण देशले सहयोग र समर्थन गर्नुपर्दछ । हाम्रो तर्फबाट पनि वहाँ गई पूर्णसमर्थन र अग्रिम बधाई, उनले अगाडि लेखेका छन्,‘अब वहाँलाई वर्तमान संविधानको जगमा टेकेर संविधानका पालनकर्ता र संरक्षक राष्ट्रपतिले विधिवत् शपथ ग्रहण गराएर अहिलेको अन्योल र आशंका छिटो भन्दा छिटो अन्त्य गरिनु पर्छ । त्यसको उपयुक्त संविधानसम्मत र लोकतान्त्रिक विधि के हुनसक्छ संविधानविद्हरू र जानकारहरूको सल्लाहमा निर्णय गर्नु उपयुक्त हुन्छ ।’
त्यस्तै डा. भट्टराईले ०६९ सालमा खिलराज रेग्मीलाई नियुक्त गरिएको नजीर भने कति पनि मेल नखाने जिकिर गरे । ‘त्यतिवेला विद्यमान ‘अन्तरिम संविधान २०६३ मा’ राजनीतिक सहमतिका आधारमा’ कतिपय निर्णय गर्न सकिने कुरा संविधानमै लेखिएको थियो र राजनीतिक सहमति भन्नाले सात राजनीतिक दल र नेकपा (माओवादी) वीचको सहमति बुझ्नुपर्छ’ भनेर स्पष्टीकरण समेत त्यहीं राखिएको थियो । तर यो निर्वाचित संविधानसभाले बनाएको स्थायी संविधान हो र यसमा त्यस्तो कुनै प्रावधान छैन । यसबारे जेन जी ले धेरै संवेदनशील भएर सोच्नुपर्छ । अहिलेको आन्दोलन भन्दा पनि ठूलो वलिदानीपूर्ण आन्दोलनको बलमा संविधानसभाबाट बनेको नेपाली इतिहासको पहिलो संविधान हुनाले यसको जगमा टेकेर नै अघि बढ्नु जेन जी को दीर्घकालीन हितमा हुनेछ ।’