
काठमाडौं - नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले लोकतान्त्रिक प्रक्रियाको पुनःस्थापना र संरक्षणका लागि सबै पुनः सक्रिय हुन आवश्यक रहेको बताएका छन् ।
बुधबार उनले विज्ञप्ति जारी गर्दै उनले नेपाली कांग्रेस लोकतन्त्रको लागि सबैभन्दा भरपर्दाे शक्ति हो भन्ने दुबिधा नरहेको भन्दै पार्टीले अन्य लोकतन्त्र र संविधानप्रति प्रतिवद्ध दलहरुसंग तत्काल संवाद गर्न आवश्यक रहेको बताए ।
उनले शान्ति, सुरक्षा, संबैधानिक व्यवस्था र लोकतान्त्रिक प्रक्रियाको संस्थागत पुनःस्थापनाका लागि राष्ट्रपतिको अगुवाइमा हुने संवाद र पहलमा नेपाली कांग्रेसले सक्रिय पहल गर्नपर्ने बताए ।
‘हालै नवयुवा पुस्ताद्वारा आयोजित विरोध प्रदर्शनका क्रममा हुन नपर्ने दुःखद घटना भएकोप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । धेरै युवाहरु र केहि सुरक्षाकर्मीहरुले ज्यान गुमाउनुपरेको पीडादायी अवस्था हामी सबैकालागि अत्यन्त दुखदायी छ । मृतकहरुमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । घाइतेहरूलाई शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्दै बिरोध प्रदर्शन क्रममा भएको धनजनको ठुलो क्षति प्रति गम्भीर चिन्ता प्रकट गर्दछु,’विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा अगाडि भनिएको छ,‘हिजो देशभर भएको तोडफोड, आगजनी र हिंसात्मक गतिविधिहरू शान्तिपूर्ण लोकतान्त्रिक बिरोधको मर्म र मान्यताबाट बाहिर गएको छ । देश,जनता र लोकतन्त्रप्रत प्रतिवद्द नवयुवाहरुले अवश्य पनि यस्तो चाहेका थिएनन । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता लोकतन्त्रका आधारभूत स्तम्भहरूमा समेत आगजनी हुनु गम्भीर छ ।
म लगाएत धेरैको घर निजी सम्पति, उधोगव्यावसाय, सन्चारगृह लगाएतमा भएको आगजनी, तोडफोड र लुटपाट अत्यन्त दुःखद र निन्दनीय छ । यो एक दिनको क्षति १० वर्षे माओवादीद्वन्दको बेला भन्दा धेरै बढी हो । यसले लगानीको बातावरणलाई पनि बिगारेको छ र क्षतिपुर्ती गर्न वर्षौ र ठुलो लगानी लाग्ने निश्चित छ । त्यस्तै, पार्टी सभापति शेरबहादुर देउवा लगायत अन्य नेताहरू माथि भएको सांघातिक आक्रमणको घोर निन्दा तथा भत्र्सना गर्दछु ।
देश अहिले राजनीतिक शून्यता र कानुनी अनिश्चिततामा छ । राष्ट्रपतिको समन्वयमा सुरक्षा निकायहरू सक्रिय भई शान्ति–सुरक्षा अमनचयन कायम हुन जरुरी छ ।’