काठमाडौं - जेन–जी पुस्ताको नाममा दुई दिनसम्म चलेको हिंसात्मक प्रदर्शनपछि काठमाडौं उपत्यकाको अवस्था दयनीय देखिएको छ । भ्रष्टाचार विरुद्ध भएको प्रदर्शन हिंस्रक बनेपछि देशका महत्त्वपूर्ण सार्वजनिक संरचना ध्वस्त भएका छन् । संरचना ध्वस्त भएपछि सर्वसाधारण आक्रोशित बनेका छन् ।
आन्दोलनमा घुसपैठ भएका कारण सार्वजनिक संरचनामा आगो लागेको सर्वसाधारणको भनाइ छ । आन्दोलन गर्न पाइन्छ असहमति राख्न पाइन्छ तर सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्याएकोमा आन्दोलनकारीले गलत गरेको काठमाडौं जिल्ला अदालतका अधिवक्ता सुनिल कुमार यादवले प्रतिक्रिया दिए ।
‘सुरुको दिन आन्दोलनमा सरकारले गोली चलाएर गलत गर्यो । दोस्रो दिन आन्दोलनमा आन्दोलनकारीहरूले जेनजीको नाममा घुसपैठ भयो । सार्वजनिक सम्पत्ति नष्ट गराएर आपराधिक कार्य गरियो,’ उनले भने ।
‘आन्दोलन गर्न असहमति राख्न पाइन्छ । यो नागरिक अधिकार हो । तर भौतिक संरचना नष्ट गरेर र गोली हान्ने काम आपराधिक काम हो,’ उनले भने ।
भ्रष्टाचारविरुद्ध ढिलो चाँडो आन्दोलन हुनुपर्ने औँल्याएका उनले जिम्मेवारीपूर्वक नभएको सुनाए । उनले अहिलेको स्थितिमा नेपाल धेरै पछाडि परेको बताए । उनले अर्बौँको सम्पत्ति नष्ट भएको भन्दै पुनः निर्माण गर्दा धेरै स्रोतहरूको आवश्यक पर्ने बताए । अबको विकल्प भनेको जेनजीका प्रतिनिधि र नेपाल सरकारको तर्फबाट वार्तामा बस्ने टोली तय गर्ने आधारमा हुने बताए ।
हालको जुन व्यवस्था छ त्यो भनेको संवैधानिक व्यवस्था नै भएकाले अर्थात् अन्य बाटोबाट जाने भन्ने कुरा समयले निर्धारण गर्ने उनको धारणा थियो । उनले अब नेतृत्व गर्ने व्यक्ति अनुभवी कुनै पनि कुरामा कालो दाग नलागेको आक्षेप नलागेको सर्वस्वीकार्य हुनुपर्ने बताए । उनले नेतृत्व गर्न सक्ने आँट भएको र जुन माहौल सिर्जना भएको छ यसलाई सम्हाल्न सक्ने व्यक्ति आउनुपर्ने समेत स्पष्ट पारे ।
त्यस्तै अर्का सर्वसाधारण तारानाथ तिम्सिनाले नहुनुपर्ने घटनाहरू भएको र ठूलो जनधनको क्षति भएको भन्दै अब एकजुट भएर सहमतिका साथ अघि बढ्नुपर्ने बताए ।
समाजमा भएका विकृति विसङ्गति विरुद्ध जसरी आवाज उठ्यो आगामी दिनमा यसलाई सुधारको बाटोतर्फ लैजानुपर्ने उनको भनाइ छ ।
‘युवाहरूले एउटा अपेक्षा गरेका थिए । त्यो बिचमा घुसपैठ भएको अनुमान गरिएको छ । अब जे नहुनुपर्ने भयो । ठूलो जनधनको क्षति पनि भयो । अब सबै एक ठाउँमा आएर सहमतिका एकसाथ अगाडि बढ्नुपर्छ । सकारात्मक सन्देश दिएर अगाडि बढ्नुपर्छ । समाजमा भएका विकृति विसङ्गति विरुद्ध जसरी आवाज उठ्यो आगामी दिनमा यसलाई सुधारको बाटोतर्फ लैजानुपर्छ,’उनले भने ।