Harsamaya
बेपत्ता दुई युवामध्ये हरिप्रसादको शव कालीगण्डकीमा फेला, कुमार अझै भेटिएनन्
सांकेतिक तस्वीर: हर समय/Har Samaya

म्याग्दी - बेनीबाट गत शनिबार रातिदेखि सम्पर्कविहीन भएका दुई युवामध्ये एक जनाको शव फेला परेको छ । जिल्ला सदरमुकाम बेनीस्थित कालीगण्डकी किनारमा निर्माण भएको चक्रपथमा दुर्घटनामा परेर बेपत्ता भएका बेनी नगरपालिका–६ जामुना खर्कका हरिप्रसाद शर्मा (रिजाल)को शव फेला परेको हो ।

बागलुङ नगरपालिका–१ मालढुङ्गास्थित कालीगण्डकीको किनारमा आज बिहान रिजालको शव फेला परेको र हुलियाका आधारमा घरपरिवारले सनाखत गरेपछि शव परीक्षण गरेर अन्तिम संस्कारका लागि जिम्मा लगाइएको बागलुङ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुनिल शर्मा सिलवालले जानकारी दिए । 

उनका अनुसार आज बिहान नदी किनारमा वेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेपछि स्थानीयले बागलुङ प्रहरीलाई खबर गरेका थिए । बागलुङ प्रहरीले माग्दी जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरी बेपत्ता भएका युवाका आफन्तबाट सनाखत गराइएको थियो । 

रिजालसँगै बेपत्ता भएका म्याग्दीको रघुगङङ्गा गाउँपालिका–२ भगवतीका कुमार रिजालको अवस्था भने अझै अज्ञात छ । बेनीको बैंकरोडस्थित एक होटलमा सँगै खाना खाएर एउटै मोटरसाइकलमा सवार रिजालद्धय कालीगण्डकी नदीको चक्रपथतर्फ मोडिएको र उक्त समयमा चक्रपथबाट मोटरसाइकल कालीगण्डकी नदीमा खसेको दृश्य सिसीटिभीमा कैद भएको थियो ।

दुर्घटना भएको सडक छेउमा एउटा जुत्ता र हेलमेटको भाइजर फेलापरेको थियो भने बेनीनगरपालिका–१ थाङ्नेबगरस्थित कालीगण्डकी नदी किनारमा उनीहरू सवार पल्सर १५० सिसी मोटरसाइकलको फ्युलट्याङ्की फेला परेको थियो । बेपत्ता भएकाहरूको नेपाल प्रहरी र आफन्तजनसँगै सशस्त्र प्रहरी बलको गोताखोर टोलीले लगातार खोजी गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०८२  २२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update