Harsamaya
एमाले जिल्ला अध्यक्षले भने- बमबहादुर तामाङ अध्यक्ष भएको कमिटी नै आधिकारिक 
बमबहादुर तामाङ ।

सिन्धुपाल्चोक - नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुपाल्चोकले  बाह्रबिसे नगरपालिकाको नगर कमिटीअध्यक्ष बमबहादुर तामाङ भएको कमिटीनै आधिकारिक भएको बताएको छ । जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै तामाङको कमिटीआधिकारिक भएको र अन्यले अध्यक्ष भनेर फेसबुकमा फोटो र नाम राख्दैमा आधिकारिक नहुने दाबी गरेका छन् । 

मंगलबार एमालेले बाह्रबिसे नगरमा दुई वटा समानान्तर नगर कमिटी घोषणा गरेको थियो । जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठको उपस्थितिमा भएको बन्दसत्रबाट बमबहादुर तामाङ अध्यक्ष, कल्याणी घिसिङ उपाध्यक्ष र शीतल मोक्तान सचिवसहित ४१ सदस्यीय नगर कमिटी घोषणा गरिएको थियो भने जिल्ला उपाध्यक्ष अर्जुन भण्डारी र नगर इञ्चार्ज निमफुञ्जो शेर्पाको सहभागितामा भएको अर्को भेलाले माधव नेपाल अध्यक्ष, विक्रम श्रेष्ठ उपाध्यक्ष, ङिमा शेर्पा सचिव, आशिष दाहाल र बिनु तामाङ उप–सचिवसहित ३९ सदस्यीय नगर कमिटी गठन गरेको थियो । 

दुई वटा समानान्तर कमिटीगठन भएपछि अध्यक्ष श्रेष्ठले बमबहादुर तामाङ अध्यक्ष भएको कमिटीआधिकारिक भएको बताएका हुन् ।  अधिवेशनमा पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज सरेश नेपाल, प्रदेश उपाध्यक्ष दावादोर्जे तामाङ, जिल्ला अध्यक्ष श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

नव–निर्वाचित अध्यक्ष तामाङले संगठनलाई थप मजबुत बनाउन प्रतिनिधिहरूको एकमत समर्थनलाई ऐतिहासिक अवसरका रूपमा लिनुपर्ने बताएका छन् ।

प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२  १८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update