Harsamaya
एमाले सिन्धुपाल्चोको विवाद छताछुल्ल, बाह्रबिसेमा दुई समानान्तर कमिटी
बमबहादुर तामाङ र माधव नेपाल ।

सिन्धुपाल्चोक - नेकपा एमालेले बाह्रबिसे नगरमा दुई वटा समानान्तर नगर कमिटी घोषणा भएको छ। सोमबार छुट्टाछुट्टै भेलाबाट अलग–अलग कमिटी गठन गरिएको हो।

जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठको उपस्थितिमा भएको बन्दसत्रबाट बमबहादुर तामाङ अध्यक्ष, कल्याणी घिसिङ उपाध्यक्ष र शीतल मोक्तान सचिवसहित ४२ सदस्यीय नगर कमिटी घोषणा गरिएको छ।

त्यसैगरी जिल्ला उपाध्यक्ष अर्जुन भण्डारी र नगर इञ्चार्ज निमफुञ्जो शेर्पाको सहभागितामा भएको अर्को भेलाले माधव नेपाल अध्यक्ष, विक्रम श्रेष्ठ उपाध्यक्ष, ङिमा शेर्पा सचिव, आशिष दाहाल र बिनु तामाङ उप–सचिवसहित ३९ सदस्यीय नगर कमिटी गठन गरेको छ।

एमाले बाह्रबिसेमा लामो समयदेखि सदस्यता विवादका कारण संगठनात्मक समस्या देखिएको थियो। १०औं जिल्ला अधिवेशनसम्ममा ७६६ रहेको सदस्य संख्या अधिवेशनपछि एकैपटक १३०० भन्दा बढी पुगेपछि विवाद चुलिएको हो।

पाँच महिना अघि भएको उद्घाटन सत्रको बन्द सत्र दुई कमिटी गठन गरेर सकिएको छ । यसले एमालेको विवाद सतहमा छताछुल्ल भएको छ ।

नेकपा एमालेका एक जिल्ला नेताले जिल्ला अध्यक्ष श्रेष्ठ र अर्का नेता सरेस नेपालका कारण जिल्लामा एमाले भित्रको विवाद चुलिएको बताए । ‘नेतृत्व गरेकाले सबैलाई मिलाएर लानुपर्ने हो’ उनले भने, ‘तर उहाँहरू आफ्ना मान्छे बनाउन मात्रै लाग्नु भयो ।’ 

यसअघि सोमबार नगर इञ्चार्ज निमफुञ्जो शेर्पाले आज हुने जिल्ला अध्यक्षले आव्हान गरेको बन्दसत्र बहिष्कार गर्न आग्रह गरेका थिए । 

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  १८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update