
काठमाडौं - नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय कार्यसमितिले सिन्धुपाल्चोक जिल्ला कार्यसमिति अध्यक्ष पवन घोरासैनीले साउन २३ गते गरेका विभिन्न नियुक्ति बदर गरेको छ।
घोरासैनीले उपाध्यक्ष, सचिव र सहसचिव पदमा मनलाग्दी ढङ्गले नियुक्ति तथा बर्खास्ती गरेको भन्दै केन्द्रीय कार्यसमितिले सो निर्णय अस्वीकार गरेको हो।
यसपछि, नेविसंघ सिन्धुपाल्चोकका सचिव दीपेशराज खनालले श्रावण २४ गते केन्द्रीय कार्यालयमा बुझाएको पत्रमार्फत अध्यक्ष घोरासैनीले विधि–विधान विपरीत संगठनलाई व्यक्तिगत स्वार्थमा प्रयोग गरेको भन्दै सो कदम खारेज गर्न माग गरेका थिए।
खनालले घोरासैनीले बैठक बोलाउन नसकेको, सदस्यता वितरण नगरेको, पार्टीसँग समन्वय नगरी अराजकतापूर्ण गतिविधि गरेकोलगायतका आरोप लगाउँदै संगठनलाई अधिवेशनमुख बनाउन असफल भएको उल्लेख गरेका छन्।
उक्त पत्र र परिस्थितिलाई मध्यनजर गर्दै केन्द्रीय कार्यसमितिले घोरासैनीका सबै निर्णय बदर गरेको हो। साथै, संगठनलाई एकताबद्ध गर्दै आगामी गतिविधि व्यवस्थित रूपमा अघि बढाउन नयाँ नेतृत्व चयन नभएसम्म केन्द्रीय समितिको प्रत्यक्ष समन्वयमा गतिविधि सञ्चालन हुने विज्ञप्तिमा उल्लेख छ।
अध्यक्ष घोरासैनीले फेसबुकमार्फत सचिव खनाललाई पदमुक्त गरेको पत्र सार्वजनिक गरेका थिए । उक्त पत्रमा ‘अनुशासन विपरीत कार्य गरेको’ भन्दै हटाइएको उल्लेख थियो।
अध्यक्ष घोरासैनीले सचिव खनाललाई बर्खास्त गरेर मेलम्ची–१० का सरोज बस्नेतलाई सचिवमा नियुक्त गरेका थिए । साथै, उपाध्यक्षमा सन्दीप बस्नेत र सुवास लामालाई, सहसचिवमा सलमान दोङ र हरिकृष्ण थापालाई नियुक्त गरेका थिए । केन्द्रीय सामितिको पत्रअनुसार अब यी सबै नियुक्ति बदर भएका छन् भने खनालको पद सुरक्षित रहेको छ ।