Harsamaya
कार्यालय सहयोगीको भन्दा शिक्षकको तलब कम छ, यस्तो पनि हुन्छ ?  डा. कोइराला
नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला ।

काठमाडौं - नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले शिक्षकमाथि राज्यले उचित मूल्याङ्कन नगरेकोप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

शुक्रबार काठमाडौंस्थित ज्ञान ज्योति महिला माध्यमिक विद्यालयको २०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले शिक्षा प्रणालीको वर्तमान अवस्थाबारे धारणा राखेका हुन् । कोइरालाले भने, ‘हामी नेपालीहरूमा क्षमता छैन भन्ने होइन, क्षमता छ । तर त्यो क्षमतालाई उजागर गर्न सकिरहेका छैनौँ ।’

उनले शिक्षकमाथिको तलब संरचनाप्रति आक्रोश जनाउँदै थपे, ‘कार्यालय सहायकको भन्दा शिक्षकको तलब कम छ यो देशमा । यस्तो पनि हुन्छ ? अनि शिक्षकहरूले कसरी मन लगाएर काम गर्ने? यसबारे सोच्न जरुरी छ ।’ उनले शिक्षा क्षेत्रका समस्या समाधान गर्न राज्यले गम्भीर ध्यान दिनुपर्ने बताए । ‘अहिले शिक्षकहरूका बारेमा विधेयक बन्दै छ । राज्यले सामुदायिक र सरकारी विद्यालयहरूलाई कसरी गुणस्तरीय बनाउने भन्नेमा प्राथमिकता दिनुपर्छ,’कोइरालाले भने ।

शिक्षकको कम तलबले विद्यार्थीको पढाइमा प्रत्यक्ष असर पार्ने उनको भनाइ थियो । साथै, उनले शिक्षा नै राष्ट्रको समृद्धिको मूल आधार भएको उल्लेख गर्दै शिक्षा क्षेत्रमा लगानी गर्न सरकारलाई आग्रह गरे । ‘देशको आर्थिक अवस्था कमजोर छ तर शिक्षा नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो ।’ उनले भने । उनले  कुनै पनि देशलाई विश्वमा चिनाउने माध्यम शिक्षा नै हो भन्ने बुझ्न जरुरी रहेको बताए ।

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  ११:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update