Harsamaya
इन्द्रावतीमा नेपाल महिला संघले गर्यो तीज विशेष कार्यक्रम 
कांग्रेस सांसद सीता मिजारलगायत ।

सिन्धुपाल्चोक - नेपाल महिला संघ इन्द्रावती गाउँपालिकाले भदौ ५ गते नवलपुरमा तीज विशेष कार्यक्रम गरेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सांसद सीता मिजारले महिलाहरू देशकै सबैभन्दा ठूलो मतदाता समूह भएको उल्लेख गरिन्। उनले महिलाले वडा अध्यक्षदेखि मेयरसम्म नेतृत्व लिनुपर्ने आवश्यकता औंल्याउँदै, राजनीतिक, आर्थिक, सांस्कृतिक, मातृत्वसहितका अधिकार सुनिश्चित गर्न महिलालाई अवसर दिनुपर्ने बताइन्। उनले महिलाले ५१ प्रतिशत प्रतिनिधित्व पाउनुपर्ने र स्थानीय तहमा पनि शून्य बेरुजासहित कर्तव्यनिष्ठ भएर अघि बढ्नुपर्नेमा जोड दिइन्।

कार्यक्रममा तिज को शुभकामना दिदै नेपाल महिला संघकी केन्द्रीय सदस्य रञ्जिता गिरिले नारीलाई परिवर्तनको संवाहक भन्दै, बहुविवाहजस्ता विकृतिबाट मुक्त भई महिलाले सिंहदरबारसम्म पुग्नुपर्ने बताइन्। उनले युवा र महिलाहरू नेतृत्वका लागि तयारीमा बस्नुपर्नेमा जोड दिँदै, तिजलाई धार्मिक, सांस्कृतिकसँगै सशक्तीकरणको पर्वका रूपमा मनाउन आग्रह गरिन्।

त्यसैगरी कांग्रेस महासमिति सदस्य तथा पूर्व गाउँपालिका अध्यक्ष वंशलाल तामाङले समाजको शक्ति महिलाकै हातमा हुने उल्लेख गर्दै, देशलाई हाँक्ने क्षमता भएका व्यक्तिहरू महिलाकै सहयोग र मार्गदर्शनमा तयार हुने बताए। उनले कांग्रेसलाई विजयी गराउन सके मात्रै व्यवस्थामा सकारात्मक परिवर्तन आउने दाबी गरे।

कार्यक्रममा शुभकामना मन्तव्य दिंदै नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव तथा महाधिवेशन प्रतिनिधि बिल बहादुर तामाङले पार्टीमा दुःख गरेर योगदान गर्ने कार्यकर्तालाई अवसर दिनुपर्ने र अवसरवादीलाई ठाउँ दिन नहुने बताए। उनले महिलाहरूको सक्रियताले इन्द्रावती कांग्रेसलाई थप ऊर्जा मिलेको उल्लेख गर्दै लोकतन्त्र संरक्षणमा महिलाको भूमिका अपरिहार्य रहेको धारणा राखे।

त्यस्तै सिन्धुपाल्चोक कांग्रेस जिल्ला सदस्य सजिना श्रेष्ठले  महिला संगठनलाई बलियो र सबल बनाउन महिलाले आफ्नो क्षमता र प्रतिभा प्रस्तुत गर्दै एकढिक्का भएर अगाडि बढ्नुपर्नेमा जोड दिइन्।

कार्यक्रमको अध्यक्षता संघकी अध्यक्ष तारा माझीले गरेकी थिइन्।

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  १९:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update