
सिन्धुपाल्चोक - नेकपा एमालेका महासचिव शंकर पोखरेलले सर्वोच्च पदमा पुगिसकेको व्यक्ति पुनः सक्रिय राजनीतिमा फर्कनु उपयुक्त नहुने बताएका छन् ।
मंगलबार मेलम्चीमा नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटीको प्रथम प्रतिनिधि परिषद् बैठकको उद्घाटन गर्दै उनले राष्ट्रपति जस्तो गरिमामय पदमा पुगिसकेको व्यक्तिले फेरि दलगत राजनीतिमा सक्रिय भूमिका खेल्नु राम्रो नहुने निष्कर्ष पार्टीले निकालेको स्पष्ट पारे ।
महासचिव पोखरेलले एमालेलाई कमजोर पार्ने विभिन्न प्रयास भइरहेका दाबी गर्दै संगठनलाई अझ मजबुत बनाउन नेता–कार्यकर्तालाई एकढिक्का भएर अघि बढ्न आव्हान गरे । ७० वर्षभन्दा माथिका नेताले नेतृत्व लिन नहुने भन्ने भ्रमलाई चिर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले “विकसित मुलुकहरूमा समेत ७० वर्षमाथिका नेताहरू प्रभावकारी नेतृत्व गरिरहेका उदाहरणहरू छन्, त्यसैले यसलाई कमजोरीका रूपमा लिनुहुँदैन” भने ।
देशमा स्थिरता, शान्ति र विकासको विकल्प एमाले मात्र भएको दाबी गर्दै पोखरेलले अस्थिरताको राजनीति गर्ने शक्तिहरू अन्ततः जनताले परास्त गर्ने विश्वास व्यक्त गरे ।
बैठकले जिल्लाभित्र आन्तरिक एकता, संगठन सुदृढीकरण र आगामी निर्वाचनमा विजय हासिल गर्ने लक्ष्यसहित १० बुँदे ‘मेलम्ची घोषणा पत्र’जारी गरेको छ । घोषणापत्रमा विपत्तिबाट क्षतिग्रस्त मेलम्ची–हेलम्बु, मेलम्ची–भोटे कोशी करिडोरलगायतका सडक तथा पुल तत्काल पुनर्निर्माण गर्नुपर्ने, कृषकलाई शोषणमुक्त बनाउन कानुनी व्यवस्था गर्नुपर्ने, महिला, दलित र उत्पीडित समुदायमाथि भइरहेका हिंसात्मक घटनाको अन्त्य गर्नुपर्ने लगायतका माग समावेश छन् ।
त्यस्तै घोषणापत्रमा युवालाई रोजगारीका अवसर सिर्जना गर्न उद्यमशीलता र सीपमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने, भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्ने, जिल्लाको जलविद्युत सम्भावनाबाट स्थानीय जनतालाई निःशुल्क विद्युत उपलब्ध गराउनुपर्ने माग गरिएको छ । मेलम्ची, यारी, लार्के जस्ता क्षेत्रमा करिडोर सडक निर्माण, स्थानीय उद्योग–व्यवसाय सञ्चालन, भौगोलिक कठिनाइ भएका बस्तीमा प्रशासनिक सेवा विस्तार र दीर्घकालीन विकासको आधारका रुपमा सुनकोशी–३ जलाशय आयोजना तत्काल निर्माण गर्नुपर्ने माग पनि घोषणापत्रमा गरिएको छ ।
एमाले सिन्धुपाल्चोकका उपाध्यक्ष अर्जुन भण्डारीले परिषद बैठकपछि जिल्ला संगठनलाई अझ एकताबद्ध बनाएर अघि बढाइने बताए । जिल्ला सचिव कृष्णगोपाल तामाङका अनुसार जिल्लाभरका ७ सय ४५ भन्दा बढी प्रतिनिधि र पर्यवेक्षकहरूको सहभागिता बैठकमा रहेको थियो ।
जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकमा एमाले स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश इन्चार्ज राजन भट्टराई, स्थायी कमिटी सदस्य शेरबहादुर तामाङलगायत नेताहरूको उपस्थिति रहेको थियो ।
१० औं जिल्ला अधिवेशनपछि पहिलो पटक भएको यो प्रतिनिधि परिषद् बैठकलाई आगामी विधान महाधिवेशनको सन्दर्भमा निकै महत्वपूर्ण मानिएको छ ।