
पोखरा - नेपाली काङ्ग्रेसका उपसभापति एवं पुर्व मन्त्री धनराज गुरुङले खेल क्षेत्रको विकासको निम्ति पार्टीको निर्देशन कुरेर बस्न नहुने बताएका छन् । नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघको गण्डकी प्रदेश समितिको प्रथम प्रदेश अधिवेशन उद्घाटन गर्दै उपसभापति गुरुङले खेल क्षेत्रमा कुनै पार्टी, धर्म, जात नहुने भन्दै खेल क्षेत्रलाई सबैभन्दा माथि राखेर सोच्नुपर्ने बताए । पोखराको शीतलादेवी पार्टी प्यालेसमा भएको अधिवेशनलाई सोमबार उद्घाटन गर्दै उहाँले अनुशासनको उदाहरण मानिने खेल क्षेत्रबाट राजनीतिले अनुशासन सिक्नुपर्ने बताए।
खेल क्षेत्र अनुशासनमा बाँधिएको हुन्छ, विभिन्न क्षेत्रलाई बाँध्न विभिन्न नीतिहरू बनाइरहेका हुन्छौँ सबैको नीति भनेको राजनीति हो । राजनीति राम्रो भयो भने सबै नीति राम्रो हुन्छ त्यसैले राजनीति सुधार्न सबै लाग्नुपर्छ । नेपाली राजनीतिमा अनुशासन हराउँदै गएको उल्लेख गर्दै अनुशासनको क्षेत्रमा अब्बल मानिएको खेल क्षेत्र बाट नेपाली राजनीतिले अनुशासन सिक्नुपर्ने धारणा राखे । एक नेताले अर्को नेतालाई एक पार्टीले अर्को पार्टीलाई खुइल्याउने प्रवृत्ति बढेको भन्दै यस्तो अनुशासनहीन लोकतन्त्र/गणतन्त्र हुन नसक्ने उनको भनाई छ।
नेपाली राजनीतिमा स्वच्छ प्रतिस्पर्धा हुन नसकेको भन्दै राजनीतिमा स्वच्छ प्रतिस्पर्धा हुन नसक्दा लोकतन्त्र/गणतन्त्र धरापमा पर्दै गएको बताउनुभयो । राष्ट्रियताको सवालमा पार्टी, जाति, भेग, समुदाय कुनै वाहनमा बिभाजन हुन नहुने भन्दै नेपालमा समाजवाद अझै आउन नसकेको बताए ।
उनले भने "एउटा धनी मात्रै भइरहने र अर्को गरिब मात्रै भइरहने यहाँ समाजवाद आएकै छैन ।" लोकतन्त्र, गणतन्त्रलाई अप्ठ्यारो पर्दा मात्रै पार्टीको निर्देशन मान्नुपर्ने बताउँदै खेल क्षेत्रको विकासको लागि पार्टीको निर्देशन कुरेर बस्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो " नेपाल लोकतान्त्रिक खेलकुद संघ नेपाली काङ्ग्रेसको भातृ संगठन भए पनि खेल क्षेत्रको विकासको लागि पार्टीको निर्देशन कुरेर नबस्नुस् ।"