
काठमाडौं - रक्षा मन्त्री मानवीर राईले नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं तराई–मधेस द्रुत मार्ग (फास्ट ट्र्याक) ०८३ सालसम्म सक्न कठिन रहेको जानकारी दिएका छन् । बिहीबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा उनले फास्ट ट्र्याकको काम ०८३ भित्र सक्ने सम्भावना न्यून रहेको बताएका हुन् ।
मन्त्री राईले भने, ‘०८३ सालभित्र काठमाडौं तराई–मधेस द्रुत मार्ग (फास्ट ट्र्याक) बन्छ कि बन्दैन भन्ने कुरामा सबैको आशङ्का रह्यो । ०८३ नआईकन भन्नपनि सकिदैन। तर मेलम्चीको आयोजना लम्बिदैन ।’ उनले नेपालमा फास्ट ट्र्याकको काम गर्दा जमिन र जङ्गल सम्बन्धीका कानुनले अप्ठ्यारो पर्ने बताए ।
‘नेपालमा प्राय जग्गाहरू व्यक्तिको नाममा छ । समस्या जमिन र जङ्गल हो । जङ्गलको कानुन मन्त्रिपरिषद्ले समेत क्रस गर्न नसक्ने रहेछ । फास्ट ट्र्याकको सम्बन्धमा संशोधनको रूपमा प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पास गर्यौँ । तर हामीले निकुञ्जहरु बेचेर खाने भन्ने आरोप पनि आए । जङ्गलका समस्या सुधार हुँदा वन मन्त्रालय पनि सकारात्मक छ,’ उनले भने ।
यस्तै, प्रधानसेनापति अशोकराज सिग्देलले भने फास्ट ट्र्याकको काम ०८३ प्रतिशत सकिएको बताए । उनले भने, ‘समयमा सक्नुपर्छ । ०८३ चैत्र अन्तिमसम्ममा सक्नुपर्ने दायित्व छ । त्यो सक्नलाई हामी प्रतिबद्ध छौ । अहिले करिब ०८३ प्रतिशत काम सकिसकेको छ । अब हुने काम छिटो हुने खालका छन् ।’
प्रधानसेनापति सिग्देलले काम सक्ने सम्भावना धेरै रहेको भन्दै नेपाली सेनाले आफ्नो काम समयमा नै सक्नेमा विश्वस्त रहन आग्रह गरे ।
आजको बैठकमा रक्षा मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरूको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानको लागि भएका प्रयास र समितिसँगको अपेक्षामा छलफल गरिएको थियो ।