
काठमाडौं - अरनिको राजमार्ग अन्तर्गत इकोमा गएको पहिरो र सडक भासिने समस्यालाई निराकारण गर्न नेकपा माओवादी केन्द्रका नेताहरूले ध्यानाकर्षण गराएका छन् ।
बुधबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश प्रसाद भट्ट र भौतिक पुर्वधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मासँग भेटगरी उनीहरुले गम्भीर छलफल गरेका हुन् ।
छलफलका क्रममा निर्णय भएअनुसार, सडक विभागका अधिकारी तथा भौगर्भिक अध्ययन टोली आजै इको क्षेत्रमा पुगेको र चिनियाँ सरकारसँग समेत प्रविधि लगायतको सहयोग लिन आवश्यक पहल समेत अघि बढेको सो क्षेत्रका सांसद माधव सापकोटा ‘सुबोध’ले सामाजिक सञ्जालमार्फत जानकारी दिए ।
‘रसुवागढी नाका बन्द रहेको अवस्थामा तातोपानी नाकालाई निरन्तर सुचारु राख्ने आवश्यकतामा हामी सबै एकमत भयौँ। यसका लागि प्राधिकरणले सम्बद्ध निकायहरूसँग समन्वय गर्ने र प्रभावित स्थानीयको आग्रह तथा जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसका आधारमा प्राधिकरणको राष्ट्रिय परिषद्मा यो विषय निर्णय गर्ने सहमति भएको छ’, उनले सामाजिक सञ्जालमा भनेका छन् ।
सापकोटाले इको पहिरोबाट भएको समस्याबारे मंगलबारको प्रतिनिधि सभाको आकस्मिक समयमा उठाई सरकारको ध्यानाकर्षण गराएका थिए ।
वस्ती संरक्षण र सडक पूर्ण रूपमा सञ्चालनमा नआएसम्म, जनप्रतिनिधिको हैसियतले समस्याको समाधानका लागि निरन्तर सक्रिय रहने सापकोटाले प्रतिबद्धता जनाए ।
बागमती प्रदेश सभा सदस्य एवं नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेल, नेता टिएन सापकोटा, भोटेकोशी गाउँपालिका पार्टीका जिम्मेवार नेताहरू छलफलका लागि प्राधिकरण पुगेका थिए ।
विगत १० दिनदेखि इकोमा पहिरो गएर सडक अवरुद्ध हुँदा आवतजावत ठप्प छ । व्यवसायीहरूले छिट्टै कुहिने फलफूललगायत खाद्यान्नहरू भरिया लगाइ बोकेर पहिरो तारेका छन् ।
गत असार २४ गते रसुवाको केरुङ नाकाको मितेरी पुल हिमपहिरोबाट आएको बाढीले बगाएपछि ठप्प छ । तातोपानी नाका हुँदै कन्टेनरहरू आएपनि इको पहिरोका कारण बाटोमै अलपत्र परेका छन् ।