Harsamaya
श्रमिकको स्वास्थ्यको जिम्मा गन्तव्य मुलुकको रोजगारदाताले लिनुपर्छ : स्वास्थ्यमन्त्री पौडेल 
ट्रेड युनियन कांग्रेस युवा समितिका अध्यक्ष दिपेन्द्र सुनार, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल र नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुमार कुँवर ।

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले वैदेशिक रोजगारीमा गएका श्रमिकहरूको स्वास्थ्य उपचारको जिम्मा गन्तव्य मुलुक वा रोजगारदाताले लिनुपर्ने बताएका छन् ।  

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस, युवा समितिले आयोजना गरेको रक्तदान कार्यक्रमको उद्घाटन गर्दै यस्तो विचार राखेका हुन् ।

विश्व स्वास्थ्य संगठन ( डब्लु.एच.ओ.) मा वैदेशिक रोजगारीमा गएका श्रमिकको स्वास्थ्य उपचार सम्बन्धित देशका रोजगारदाताले गर्नुपर्ने विषय उठाएको स्मरण गराँदै डब्लुएचओको आगामी सभामा नेपालले यो विषय प्रस्ताव गर्ने बताए ।

उनले साढे १३ हजारले डायलाइसिस गर्दा ८ हजार वैदेशिक रोजगारीबाट फर्केका श्रमिक हुने गरेको र अनौपचारिक तथ्यांक अनुसार ३० हजार जना डयालाइसिस गर्नेको संख्या रहेको र अधिकांश वैदेशिक रोजगारी गएका श्रमिक रहेकोले जसले काम लगाउँछ त्यसैले उपचार गर्नुपर्ने डब्लुएचओमा प्रस्ताव लग्ने बताए । 

मन्त्री पौडेलले विगतको तुलनामा नागरिकको स्वास्थ्य समस्या बढ्दै गएको तर राज्यले स्वास्थ्यलाई प्राथमिकता नदिएको आरोप लगाए । स्वास्थ्य बिमामा २९ अर्ब आवश्यक रहे पनि सरकारले १० अर्ब मात्र छुट्याइएको बताउँदै योगदानमा आधारित स्वास्थ्य बिमालाई प्रभावकारी बनाउनुपर्ने विचार राखे । 

नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुमार कुँवरले जलवायु परिवर्तन र कार्य वातावरणका कारण श्रमिकहरु उच्च स्वास्थ्य जोखिममा रहेकोले सरकारले श्रमजीवीको स्वास्थ्यकालागि विशेष कार्यक्रम ल्याउनुपर्ने बताए । वरिष्ठ उपाध्यक्ष तेजेन्द्र कार्की र महासचिव अजय राईले राज्यले श्रमजीवी वर्गलाई उपेक्षा गरेको आरोप लगाए । 

कार्यक्रममा ५० जना भन्दा बढिले रक्तदान गरेका छन् । युवा दिवसको अवसरमा ट्रेड युनियन कांग्रेस युवा समितिले देशैभरी विभिन्न कार्यक्रम आयोजना गरि मनाएको ट्रेड युनियन कांग्रेस युवा समितिका अध्यक्ष दिपेन्द्र सुनारले जानकारी दिए । 

प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२  १९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update