
बेल्जियम - नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले युरोपभरि जनसम्पर्क समितिलाई सक्रिय बनाउन जरुरी रहेको बताएका छन् ।
नेपाली जनसम्पर्क समिति बेल्जियमले आयोजना गरेको युरोपभरिका जनसम्पर्क समितिका प्रतिनिधिहरुको भेलामा मन्तव्य राख्दै डा. महतले बेल्जियम युरोपको केन्द्रबिन्दुमा रहेको र धेरै प्रतिबद्ध व्यक्तिहरु सक्रिय रहेकाले बेल्जियम समितिको भूमिका युरोपमा अत्यन्तै महत्वपूर्ण रहेको बताए ।
युरोपका विभिन्न जनसम्पर्क समितिहरूलाई थप क्रियाशील बनाउनुपर्ने आवश्यकता औँल्याउँदै उनले आफू पूर्वी युरोप (रोमानिया, क्रोएसिया, हंगेरी, अल्बानिया, बुल्गेरिया) मा जाँदा ठूलो संख्यामा नेपालीहरू रहेको र ती ठाउँमा जनसम्पर्क समिति विस्तार गर्न जरुरी भएको बताए ।
जहाँ पहिलेदेखि जनसम्पर्क समिति छ र नेपालीहरूको पहिलो पुस्ताबाट दोस्रो पुस्तामा प्रवेश गरेका छन्, ती देशहरूमा समितिहरूलाई थप सक्रिय गर्नुपर्ने आवश्यकता रहेकोमा उनले जोड दिए ।
उनले डेनमार्कमा देखिएको समस्या समाधान भई संगठन निर्माण र जनसम्पर्क समितिको उपस्थितिलाई विस्तार गर्ने तथा एकीकृत गर्ने दिशामा जानुपर्नेमा जोड दिए । उनले युरोप, अमेरिका, मध्यपूर्व र दक्षिण पूर्व एसियामा ठूलो संख्यामा नेपालीहरू बस्ने भएकाले अब नेपालको राजनीतिलाई मात्र हेरेर नपुग्ने बताए।
पार्टीहरूले नेपालबाहिर पनि नेपाल छ भन्ने कुरा आत्मसात गर्न जरुरी रहेको र नेपाली कांग्रेसले यसलाई आत्मसात गरिरहेको उनको भनाइ थियो । डा. महतले विदेशमा बस्ने नेपालीहरूको विषयमा निर्णायक कुरा गर्ने पार्टी नेपाली कांग्रेस नै भएको बताए ।