
काठमाडौं - संघीय संसद अन्तर्गत सोमबार चार वटा समितिको बैठक बस्दै छ । आज अर्थ समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।
बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि दफावार छलफल गर्ने कार्यसूची छ । यस्तै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘हिन्द कुश हिमालयन पार्लियामेन्टस् मिट–२०२५’ का सम्बन्धमा छलफल हुनेछ ।
बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’मा सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ ।
यसै गरी कानुन, न्याय तथा मानवअधिकार समितिमा ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’मा दफावार छलफल गर्ने कार्यसूची छ ।