Harsamaya
अवैध लागूऔषध सहित चारजना पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब ३ किलो ७० ग्राम सहित मकवानपुर थाहा नगरपालिका-२ दामन घर भएका ३२ वर्षीय किरण तामाङ शुक्रबार बिहान पक्राउ परेका छन् । 

नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट बैंकक जान लागेका उनलाई जाँच गर्ने क्रममा उनको ब्यागबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।

यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ हजार ५ सय ट्याब्लेट, नाईट्राभेट १५ हजार ट्याब्लेट, नोर्फिन ७ सय ७० एम्पुल, फेनारगन ७ सय ३० एम्पुल र डाईजेपाम ७ सय ३० एम्पुल सहित भारत सितामणी बस्ने ४० वर्षीय ईम्तीयाज राईन खानलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले जनकपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख २६८७ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

बाँके, कोहलपुर नगरपालिका-४ बेलनपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय अब्रोज जागालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

उदयपुर, चौदण्डीगढी नगरपालिका-६ केचुवाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १२ ट्याब्लेट र स्पास्मो १२ ट्याब्लेट सहित सोही नगरपालिका-६ कालिखोला बस्ने २७ वर्षीय अशोक राईलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले रामपुरबाट बेल्टारतर्फ आउँदै गरेको स.१ प ८९९५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: शनिबार, साउन २४, २०८२  १९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update