Harsamaya
नौकुण्ड गाउँपालिकाद्वारा काठमाडौंमा तीन दिने घुम्ती शिविर: स्थानीयलाई सहज सेवा उपलब्ध गराउने प्रयास
नौकुण्ड गाउँपालिकाद्वारा काठमाडौंमा घुम्ती शिविर ।

रसुवा -  नौकुण्ड गाउँपालिकाले श्रावण २१ गतेदेखि २३ गतेसम्म काठमाडौंमा विभिन्न पेशा तथा व्यवसाय गर्ने स्थानीय नागरिकहरूलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले घुम्ती शिविर सञ्चालन गरेको छ।

गाउँपालिका अध्यक्ष नुर्बु स्याङ्बो घलेका अनुसार, काठमाडौंमा बसोबास गर्ने वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति, एकल महिलाको सामाजिक सुरक्षा भत्ता नवीकरण, जन्म दर्ता, नाता प्रमाणित, राष्ट्रिय परिचय पत्र वितरण र नागरिकताको सिफारिससम्बन्धी सेवा दिइएको छ।

गाउँपालिका उपाध्यक्ष चन्द्र ग्लानले भने, ‘गाउँपालिकाबाट सेवा लिएर काठमाडौँ पुगेका वृद्धवृद्धाका अनुहारमा खुशी झल्किएको थियो। यो सेवालाई आगामी दिनमा पनि निरन्तरता दिनेछौं।’

शिविर आयोजना गर्नुको मुख्य कारण काठमाडौंबाट गाउँपालिकाको वडासम्म पुग्न नसक्ने समस्या र विशेषगरी बर्खाको समयमा हुने कठिनाइहरूलाई ध्यानमा राख्नु भएको हो।

तीन दिनसम्म सञ्चालन भएको शिविरमा झन्डै ८ सय जना लाभग्राहीहरूले सेवा लिएका छन्। गाउँपालिकाका ६ वटै वडाका अध्यक्ष तथा वडा सचिवहरूले सेवा प्रदान गरेका थिए।

अध्यक्ष घलेले आगामी दिनमा पनि यहाँ बसोबास गर्नेहरूको सुविधालाई ध्यानमा राखेर आवश्यक अन्य सेवा उपलब्ध गराउने बताए।

प्रकाशित मिति: शनिबार, साउन २४, २०८२  १३:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update