Harsamaya
नेविसंघ सिन्धुपाल्चोकमा मनपरी : फेसबुकमै नियुक्ति, फेसबुकमै बर्खास्ती
नेविसंघ जिल्ला सचिवबाट बर्खास्तीमा परेका दिपेश खनाल ।

सिन्धुपाल्चोक – नेविसंघ सिन्धुपाल्चोकका अध्यक्ष पवन घोरासैनीमाथि संगठनमा ‘मनपरी तन्त्र’ चलाएको आरोप लागेको छ। संगठन विस्तार र निर्माणमा खासै पहल नगरेको र औपचारिक बैठकसमेत नगरी पद बाँड्ने काममा सक्रिय भएको भन्दै उनको आलोचना भएको हो।

जिल्ला अध्यक्ष बनेपछि घोरासैनीले जम्मा एक पटक मात्र बैठक राखेको र त्यसपछि कुनै कार्यक्रम वा बैठक नगरेको हालका जिल्ला सचिव दिपेश राज खनालले बताए।

यसबीच, शुक्रबार राजधानीमा बागमती प्रदेशका नवनियुक्त खानेपानी, उर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङ ‘समीर’लाई सम्मान तथा बधाई दिने कार्यक्रम नेविसंघ सिन्धुपाल्चोकले आयोजना गरेको थियो। सचिव खनालका अनुसार उक्त कार्यक्रममा सभापतित्व गर्न अध्यक्षलाई आग्रह गर्दा, घोरासैनीले ‘अहिलेको अवस्थामा नेविसंघको कार्यक्रममा कतै नजाने’ भन्दै इन्कार गरेका थिए। 

त्यसपछि कार्यक्रम संयोजकको जिम्मेवारी खनालले स्वयं लिएर कार्यक्रम सम्पन्न गरेका थिए। कार्यक्रममा करिब ८०० कार्यकर्ता तथा नेताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको ‘राप’ देखेपछि अध्यक्ष घोरासैनीले फेसबुकमार्फत सचिव खनाललाई पदमुक्त गरेको पत्र सार्वजनिक गरे। उक्त पत्रमा ‘अनुशासन विपरीत कार्य गरेको’ भन्दै हटाइएको उल्लेख थियो। तर खनालले आफूले विधानअनुसार काम गरेको र यसले अध्यक्षलाई ‘पोल्दा’ यस्तो मनपरी निर्णय आएको प्रतिक्रिया दिएका छन्। उनले ‘कसैले आफूलाई पदमुक्त गर्न नसक्ने’ दाबीसमेत गरे।

अध्यक्ष घोरासैनीले सचिव खनालको स्थानमा मेलम्ची–१० का सरोज बस्नेतलाई नियुक्त गरेका छन्। साथै, उपाध्यक्षमा सन्दीप बस्नेत र सुवास लामालाई, सहसचिवमा सलमान दोङ र हरिकृष्ण थापालाई नियुक्त गरिएको छ।

अध्यक्षको यो कदमबारे सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ।

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२  २२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update