Harsamaya
नेपाल हिमालय सिमापार वाणिज्य संघले भन्यो - तातोपानी भन्सारबाट छिटो भन्सार जाँच पास गरिदिनूस्
भन्सार विभागमा महानिर्देशक महेश भट्टराई, नेपाल हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्की, अध्यक्ष रामहरि कार्की, वरिष्ठ उपाध्यक्ष सागर घिमिरे र महासचिव रामचन्द्र पराजुली ।

काठमाडौं - तातोपानी भन्सार कार्यालयबाट छिटो छरितो भन्सार जाँच पास गर्न व्यापारीहरूले अनुरोध गरका छन् । सोमबार नेपाल हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीको नेतृत्वमा भन्सार विभागमा महानिर्देशक महेश भट्टराईलाई भेटेर उनीहरूले यस्तो आग्रह गरेका हुन् ।

रसुवाको केरुङ नाका ठप्प भएपछि व्यापारीहरूले तातोपानी नाकाबाट सामान आयात गर्न थालेका छन् । जसको कारण तातोपानी नाकामा चाप बढ्न गएकाले अतिरिक्त समयमा पनि भन्सार जाँच गरिदिन संघले विभागसँग आग्रह गरेको हो । उनीहरूले तातोपानी भन्सार विभागले नभ्याए चोभार सुख्खा बन्दरगाहबाट पनि भन्सार चाँजपास गरिदिन भनेका छन् । 

‘तातोपानी भन्सारबाट अतिरिक्त समयमा समेत कार्य गरी बिहान ७ बजे देखि साँझ ५ बजे सम्म भन्सार जाँच पास गरी छिटो गाडी पठाउने व्यवस्थाका साथै लार्चा सुख्खा बन्दरगाहको अत्याधिक चापलाई न्यून गर्न काठमाडौं चोभारमा रहेको सुख्खा बन्दरगाहबाट भन्सार जाँचपास गर्न चाहने व्यापारीको सामान चोभार सुख्खा बन्दरगाह बाटै भन्सार जाँच पास गरी दिने व्यवस्था भई व्यापार सहजीकरण गरिदिन हार्दिक अनुरोध गरिन्छ’, संघले विभागमा बुझाएको पत्रमा भनिएको छ ।

संघले ल्हेन्दी खोलामा अस्थायी संरचना ह्युम पाइप राखी सामान ल्याउने व्यवस्था गर्न विभागलाई सुझाव दिएको छ । ‘ह्युम पाइप राखी सामान ल्याउने सके राज्यको राजस्व तथा व्यापारीको सामान जति सक्दो चाँडो ल्याउन सके केही राहत हुने थियो’,  संघले भनेको छ । 

चीनको केरुङ्गमा करिब ६०० कन्टेनर सामान अलपत्र अवस्थामा छन् । संघले रसुवा भन्सारभित्र रहेका र केही भन्सार गरी आउने क्रममा रहेका सामानमा ठूलो क्षति पुगेकाले उचित क्षतिपुर्ति दिन अनुरोध गरेको छ ।  गत असार २४ गते आएको बाढीले रसुवा नाकाको मितेरी पुल बगाएपछि केरुङ नाका ठप्प भएको थियो । भन्सार यार्डमा रहेका धेरै मालवाहक कन्टेनरहरू सामानसहित बगाएको थियो ।  

विभागमा महानिर्देशक भेट्न उपाध्यक्ष सागर घिमिरे, महासचिव रामचन्द्र पराजुलीलगायत पुगेका थिए ।

प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  २०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update