वर्षा लागेसँगै देशका अधिकांश राजमार्गहरू यात्राका लागि जोखिमपूर्ण अवस्थामा छन् । पहिरोले सडक अवरुद्ध हुने मात्र नभई ठूला ढुङ्गाहरू खस्ने वा सडक भासिने जोखिम पनि बढ्दो छ । तर पनि ज्यान हत्केलामा राखेर लामो वा छोटो दुरीका सार्वजनिक यातायातहरूले सेवा दिन बाध्य छन् ।
उनी हुन् अशोक सापकोटा । उनी दैनिक काठमाडौँ देखि सिन्धुपाल्चोकको टिमुरे रतनपुरसम्म यात्रु लिएर ओहोरदोहोर गर्छन् । यात्रा त जोखिमपूर्ण छ नै उनी बाटोमा कुनै पनि समस्या नहोस् भनेर बेल्चा वा कोदालो पनि साथै बोकेर हिँड्ने गरेका छन् । सुनकोसी गाउँपालिका भित्रका सडक मार्गहरू सामान्य भए पनि पहिरोले दुःख दिइरहने गरेको उनी बताउँछन् । पहिरो जाँदा आफैँ कोदालोले पहिरो पन्छाउने गरेको सुनाउँछन् ।
उनले भने, ‘सुनकोसी गाउँपालिका ठाउँ राम्रो छ तर बाटो समस्यापूर्ण छ । पालिकाले बाटो दसैँ लागेपछि मात्र सोर्ने काम गर्छ । अहिले पहिरो जाँदा पालिकाको डोजर आउँदैन अपरेटर छैन भन्छ । त्यही भएर हामी बसमा भएको साबेल वा कोदालो प्रयोग गर्छौँ । यात्रुहरू आफै पनि ढुङगाहरु पन्छाउने गर्छन् ।’
काठमाडौँ उपत्यकाबाट बाहिर निस्कने बित्तिकै धुलिखेल जिरो किलो लगायतका ठाउँसँगै सिन्धुपाल्चोकका गाउँका सडकहरू जोखिमपूर्ण रहेका छन् । ‘सापकोटाले आफू दैनिक करिब पाँच घण्टा यात्रा गर्ने बताउँदै दोलालबाट, खाँडी चौर, बन्देऊ, जिरो किलो जस्ता ठाउँहरू जोखिमपूर्ण भएको बताउँछन्।
उनी जस्तै भैरहवा–काठमाडौँसम्म बस हाँकिरहेका समुन्द्र शेरचन पानी पर्ने बित्तिकै नारायणगढ–बुटवलसम्मको सडक र दाउन्ने, डुम्की बाँसदेखी बर्दघाटसम्मको यात्रा गर्न कठिन हुने बताउँछन् । उनले जोखिममा यात्रा गर्नुपरेको बाध्यता सुनाउँदै नेपालका सडक मार्गहरू मृत्यु मार्ग जस्तो बनेको बताएका छन् ।
उनले भने, ‘हिजोआजको यात्रा निकै कठिन पूर्ण छ । यात्रुदेखि गाडीवालाहरू जोखिमको यात्रा गर्न बाध्य छन् । नेपालका सडक मार्गहरु मृत्यु मार्ग जस्ता छन् । हामी सधैँ यात्रा गर्ने मुग्लिन–काठमाडौं सामान्य रहे पनि नारायणगढ–बुटवलसम्मको बाटो र दाउन्ने–डुम्कीबाँसदेखि बर्दघाटसम्मको सडकमा यात्रा गर्न कठिन छ । पानी पर्ने बित्तिकै जाम हुन्छ । जसले यात्रु र चालक दुबैलाई असुविधा हुन्छ ।’
यस्तै काठमाडौँ–बाह्रबिसेसम्म बस चलाउने राजेन्द्र श्रेष्ठ पानी पर्दा सडक ब्लक हुने समस्याले सडकका भित्ता हेर्दै जानुपर्ने बताउँछन् ।‘पाँचखाल जिरो किलो पार गरेर दोलाल घाटबाट उता पानी पर्दा माथिबाट ढुङ्गा झरिरहने, पहिरो गइरहने भएकाले जुनसुकै बेला बाटो बन्द हुने र पहिरोले पुर्ने जोखिम रहेकाले पानी पर्दा कुना वा भित्ताहरू हेर्दै जानुपर्ने बाध्यता रहेको छ ।
जोखिमको पूर्व सूचना लिने सरकारी संयन्त्र नै कमजोर छ । उनले पूर्व सूचनाको कुरा गर्दा ट्राफिक प्रहरीहरूलाई नै आफूहरूले नै सूचना दिने गरेका बताउँछन् ।
हामी नै प्रहरीलाई सूचना दिएर अरू चालकहरूलाई खबर गरिदिनुहोस् भनिदिन्छौँ । अगाडि र पछाडिको बसहरूसँग समन्वय पनि हुन्छ । नम्बर हुने चालक साथीहरूलाई फोनमार्फत जानकारी पनि दिने गर्छौ ।’
चालक अशोक सापकोटा भने आफूसँगै यात्रुलाई सुरक्षित स्थानमा पुर्याउनुपर्ने आफ्नो जिम्मेवारी भएको भन्दै पहिरो झरिरहेको समयमा रोकिएर सुरक्षित ठाउँमा साइड लागेर बस्ने गरेको बताए । तर अरू गाडी र मोटरसाइकलहरू भनेको नमान्दा दुर्घटनामा परेका उनी बताउँछन् ।
उनले भने, ‘पहिरो झरिरहेको छ भने हामी जबरजस्ती गरेर जाँदैनौ । पहिरो भन्दा एक किलोमिटर अगाडि नै गाडी साइड लगाएर बस्छौ । अरू गाडी, कार, मोटरसाइकललाई पनि भन्छौँ तर उनीहरु मान्दैनन् । जसका कारण दुर्घटनामा परेका पनि छन् । यात्रुहरूलाई अगाडि ढुङ्गा झरिरहेको छ, पहिरो आइरहेको छ अगाडी नजानुस् भन्छौँ । हेपेर जान्छन् । पहिरो, खोला बाढीको मोवाइलमा भिडियो खिच्न हतार हुन्छ ।’
पश्चिम नेपालको यात्रामा निस्किने तयारीमा रहेका यात्रु माधव पन्थी पनि यात्रा गर्नुभन्दा अगाडि मौसम सम्बन्धी सूचना लिएर र बाटोको अवस्था बुझेर मात्र यात्रा गर्छन् ।
उनी भन्छन् ‘म पश्चिमको यात्रा गर्दै छु । मौसम बदली भएको वेलामा बाटोघाटोमा पहिरो जान सक्छ अथवा जाम हुन सक्छ त्यसको सूचना पहिले नै लिनुपर्छ । मौसम सम्बन्धी सूचना लिएर हिँड्नुपर्छ । तालिका बनाएर हिँडने, अपडेट लिने गरेको छु ।’
यता, सरकारले वर्षा याममा बाढी पहिरोले सडक अवरुद्ध भए यातायात सेवा तत्काल खुलाउन पूर्व तयारी गरेको दाबी गरेको छ । हरेक वर्ष देशभरिका राष्ट्रिय राजमार्ग तथा सहायक राजमार्गहरू अवरुद्ध हुँदै आएका छन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वर्षा याममा राष्ट्रिय राजमार्गहरू चार घण्टाभन्दा बढी अवरोध हुन नदिने गरी तयारी गरेको भए पनि त्यो प्रभावकारी नदेखिएको चालकहरूको गुनासो छ ।
राष्ट्रिय राजमार्ग अवरुद्ध भए सडक विभाग मातहतको सम्भार महाशाखाले पुन निर्माणको काम तत्काल गर्ने गरी नौ अर्ब रुपैयाँ बजेट छुट्टाइएको छ । नेपालमा बिपी राजमार्ग, अरनिको राजमार्ग, कान्ति राजमार्ग, पृथ्वी राजमार्ग बढी जोखिममा छन् ।