बिहीबार प्रतिनिधिसभाको दोस्रो बैठकमा पनि प्रतिपक्षी दलले अवरोध गरेका छन् । सभामुख डोलप्रसाद अर्यालले बैठकको कारबाही अघि बढाएपछि विपक्षी वेलमा पुगेका हुन् ।यसअघि विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संसद्मा जवाफ दिनुपर्ने भन्दै विपक्षी दलहरूले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका थिए ।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
राजनीति : श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन माग गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रतिनिधिसभा नियमावलीको नियम १५(२) अनुसार नेपाल सरकारका नेतृत्वकर्ता प्रधानमन्त्री संसदमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नहरूको उत्तर दिनुपर्ने बताएका हुन् । यता,नेपाली कांग्रेसका सांसद निश्कल राईले सरकार संसदप्रति उत्तरदायी बन्न नसकेको बताएका छन् । प्रतिनिधिसभकोा बैठकमा बोल्दै राईले पछिल्ला केही बैठकदेखि सरकारलाई जवाफदेही बनाउन आफूहरू लगातार प्रयासरत रहेको बताए । यस्तै, राष्ट्रिय सभाअन्तर्गतका दुई संसदीय समितिले भूमिहीन नागरिकहरूलाई अस्थायी रूपमा राखिएको ’होल्डिङ सेन्टर’ बाट हटाएर आश्रममा सारिएको घटनाप्रति गम्भीर आपत्ति जनाएका छन्। बिहीबार सिंहदरबारमा बसेको ’सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति’ र ’सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’ को संयुक्त बैठकमा उक्त होल्डिङ सेन्टरको अनुगमनपछिको समीक्षा गर्दै समितिका पदाधिकारीहरूले सरकारको कदमलाई ’अमानवीय’ भन्दै कडा आलोचना गरेका हुन्।
समाचार : जङ्गली च्याउ खाँदा यहाँको रम्भा गाउँपालिका–५ फलकुनमा दुई जनाको मृत्यु भएको छ । जङ्गलबाट खोजेर ल्याएको च्याउ पकाएर खाएपछि फलकुनकी ६६ वर्षीया विनिमाया कामु मगर र सोही ठाउँकी ३५ वर्षीया बालकुमारी खाम्चाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए । यता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले सडक दुर्घटनालाई राष्ट्रिय संकटको रूपमा चित्रण गर्दै राष्ट्रिय ट्रमा नीति आवश्यक रहेको बताएकी छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपालमा सडक दुर्घटनाबाट हुने मानवीय क्षति अत्यन्तै गम्भीर भएपनि राज्यको प्राथमिकतामा नपरेको टिप्पणी गरिन् । उनका अनुसार नेपालमा दैनिक औसत आठ जना सडक दुर्घटनामा ज्यान गुमाउने गरेका छन् । यस्तै, राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, नेपालले खानेपानीमा लाग्दै आएको २५ प्रतिशत आयकर छुट गर्न माग गरेको छ । बिहिवार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरि महासंघले राष्ट्रिय सभाबाट पारित संकल्प प्रश्ताव तत्काल कार्यान्वयन गर्नसमेत माग गरेको छ ।
अपराध : ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण पुरुषलाई अश्लील क्रियाकलाप गरी हैरानी दिने नौ विदेशी नागरिक पक्राउ परेका छन् । प्रहरी वृत्त लैनचौरबाट खटिइएको टोलीले काठमाडौं महानगरपालिका–२६ ठमेल क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो । यस्तै, बर्दघाट नगरपालिका-४ मर्चाघोलास्थित पारिजात सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक १ थान, छर्रा र बारूद सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ शिवशक्ति टोल बस्ने ४३ वर्षीय बिजय पौडेल र सोही नगरपालिका-२ चिसापानी बस्ने ५० वर्षीय बखत राना रहेका छन् । यता, जयपृथ्वी नगरपालिका-३ भिडमुनीबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ७ ग्राम ६ सय ७० मिलिग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने १९ वर्षीय प्रबिन दमाई र २० वर्षीय सेर बहादुर दमाई रहेका छन् ।
खेलकुद : पारा पौडी विश्व सिरिजमा सहभागी हुन दुई खेलाडीसहित तीन सदस्यीय नेपाली टोली शनिबार जापानको फुजी सिजुओका जाने भएका छन् । यहि जेठ १५ देखि १७ गतेसम्म हुने प्रतियोगिताको पुरुष एस ९ क्याटगोरीमा मेम्बरसिंह स्याङबा तथा महिला एस ६ क्याटगोरीमा जेनिशा कडायतले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । यस्तै, महिला भलिबलको प्रतिस्पर्धात्मक माहोल फेरि एकपटक काठमाडौंमा देखिने भएको छ । शुक्रबारदेखि सुरु हुने काभा महिला भलिबल च्याम्पियनसिपमा घरेलु टोली नेपालसहित ८ राष्ट्र उपाधिका लागि प्रतिस्पर्धामा उत्रँदैछन् । यता, दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिपमा सहभागी हुने टोलीको आज बिदाइ गरिएको छ । भारतमा आयोजना हुने साफ महिला च्याम्पियनसिपमा खेलाडीसहित ३१ सदस्यीय नेपाली टोलीले सहभागिता जनाउनेछ ।
विश्व : चिनियाँ राष्ट्रपति सी जिनपिङले बेइजिङमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरेका छन् । चीन भ्रमणका लागि रुसका राष्ट्रपति पुटिन मंगलबार राति बेइजिङ पुगेका थिए । बुधबार उनले चीन भ्रमण सम्पन्न गरिसकेका छन् । यता, इरानका अधिकारीहरूले अमेरिका र इजरायलविरुद्धको युद्धमा आफ्नो जीवन बलिदान दिन तयार रहेको घोषणा गर्दै राज्य–प्रायोजित योजनामा हस्ताक्षर गरेका जोडीहरूका लागि तेहरानमा सामूहिक सार्वजनिक विवाह आयोजना गरेका छन् । सोमबार राति आयोजित समारोहमा राजधानीका धेरै प्रमुख चोकहरूमा सयौँ जोडीहरू सहभागी भएका थिएभने मध्य तेहरानको इमाम हुसेन स्क्वायरमा १०० भन्दा बढी जोडी सहभागी एक विशाल समारोह आयोजना गरिएको थियो । यस्तै, प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा घातक इबोलाको प्रकोपपछि भारत र अफ्रिकी सङ्घले अर्को हप्ता नयाँ दिल्लीमा हुने तय भएको शिखर सम्मेलन स्थगित गरेका छन्। महाद्वीपमा फैलिँदो अवस्थामा रहेको इबोला सङ्क्रमणको प्रकोपलाई ध्यानमा राख्दै दुवै पक्ष चौथो भारत–अफ्रिका शिखर सम्मेलनलाई स्थगित गर्न सहमत भएका छन्

