
काठमाडौं - यस वर्षको प्रथम सरु संगीत राष्ट्रिय पुरस्कार लोक गायिका कविता आलेलाई प्रदान गरिने भएको छ । सरु संगीत घर संगीत तथा नृत्य प्रशिक्षण केन्द्रले प्रेस विज्ञप्ति जारी गर्दै प्रथम सरु संगीत राष्ट्रिय पुरस्कार आलेलाई दिने निर्णय गरेको जानकारी गराएको छ । यो पुरस्कार २०८२ भाद्र १४ गते शनिवार सरु संगीत घरको पाँचौँ वार्षिक कार्यक्रममा प्रदान गरिने छ ।
यसको स्थापना स्व.सरस्वती निरौलाको स्मृतिमा सङ्गीतकार कोमल निरौला, इन्दिरा निरौला, छोरा सङ्गीतकार डेनी निरौला, सविता नेपाल निरौला, सङ्गीतकार भीषण निरौला, सृजना अधिकारी, छोरी गायिका कुमा निरौला तथा सविन भट्टराईको संयुक्त प्रयासमा स्थापना गरिएको हो । उक्त पुरस्कारको राशि पच्चीस हजार पाँच सय पाँच रुपैयाँ रहेको छ ।
सङ्गीतकार कोमल निरौलाको संयोजकत्वमा सदस्यहरू वरिष्ठ गायक सङ्गीतकार सूर्य थुलुङ, वरिष्ठ गायिका लोचन भट्टराई, साहित्यकार रत्नमणी नेपाल तथा सदस्यसचिव डेनी निरौलाको एक स्वतन्त्र छनौट समितिले आलेको नाम चयन गरेको हो ।
गायिका आले विगत २० वर्षदेखि अनवरत रूपमा लोक गायनको क्षेत्रमा सक्रिय छिन् । सरु संगीत घर विगत पाँच वर्षदेखि सङ्गीतका क्षेत्रमा सैद्धान्तिक तथा व्यवहारिक शिक्षा प्रदान गर्दै आएको एक विद्यालय हो ।
ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ५ मा रहेको यस विद्यालयमा हाल ८५ जना विद्यार्थीहरूले गायन, वाद्यवादन हार्मोनियम, मादल, गिटार, किबोर्ड, तबला आदि विधामा कक्षा लिइरहेका छन् ।