Harsamaya
कांग्रेस : पुराना अनुहारहरूको अखडा, नयाँ पुस्ताको चिहान
ग्राफिक्स: हर समय/Har Samaya

याङकिला शेर्पा यो केवल एउटा नाम होइन, कांग्रेसको चरित्र बुझाउने एउटा ठूला संकेत हो। राजतन्त्रकालमा राजा ज्ञानेन्द्रकै मन्त्रिपरिषद्मा पर्यटन सहायक मन्त्री बनेकी याङकिला आज गणतन्त्रको १५ वर्षे यात्रामा पनि कांग्रेसको समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य छिन् । अब प्रश्न उठ्छ राजनीतिक प्रणाली बदलियो, पुस्ता बदलियो, मुलुक बदलियो तर, कांग्रेसमा यिनै अनुहार किन फेरिएनन्?

यो प्रसंग केवल याङकिलाको व्यक्तिगत कुरा होइन। यो कांग्रेसको पुरै संरचनागत रोग हो। दलभित्रको अधिकार पुरानै पुस्ताले कब्जा गरेको छ। कति नयाँ कार्यकर्ताले सडकमा रगत बगाए, कति जेल गए, कतिले कांग्रेसको नाममा आफ्नो करियर, पढाइ र परिवार गुमाए। तर, सधैं पद र अवसर पाउनेहरू त्यही पुरानो पुस्ताका नेताहरू। यो दल, जसले आफूलाई ‘लोकतन्त्रको पहरेदार’भन्छ, वास्तवमा पुरानै नेताहरूको सुरक्षित आश्रयस्थल बनेको छ।

लोकतन्त्रको नाममा पुरानो पुस्ताको सामन्तवाद
कांग्रेसका नेताहरू लोकतन्त्रको प्रवचन दिन्छन् । उनीहरू भन्छन् ‘कांग्रेस पार्टीभित्र अवसर सबैलाई बराबरी छ।’ तर यो खोक्रो प्रचारमात्र हो। व्यवहारमा कांग्रेसभित्र लोकतन्त्र छैन, सामन्तवाद छ। सामन्तवाद जसमा पुराना नेताहरू आफ्नो प्रभाव, वफादारी र नेटवर्कका आधारमा पद बाँड्छन्। नयाँ पुस्ताले निर्वाचन लड्न खोज्यो भने अवसर छैन। संरचनामा उक्लिन खोज्यो भने—पैसा र पहुँच चाहिन्छ। नयाँ विचार ल्यायो भने उनीहरूलाई अनुभव छैन भनेर पाखा लगाइन्छ। के यो लोकतन्त्र हो? कि पुरानै पुस्ताले पार्टीलाई आफ्नो जागिर, आफ्नो व्यवसायजस्तो बनाएर राखेको सामन्ती खेल?

कांग्रेस किन बदलिँदैन?
कांग्रेसका इतिहास हेर्ने हो भने यो दलले पटक–पटक अवसर पायो, सत्ता पायो, मुलुक चलायो। तर, यो पार्टीभित्र पुस्तान्तरण कहिल्यै भएन। नेतृत्व सधैं उही घेराभित्रै रह्यो। नयाँ पुस्ताले नेतृत्वमा पहुँच पाउने ढोका कहिल्यै खुलेन। दलका महाधिवेशन र आन्तरिक निर्वाचन पनि पैसावाला र पुरानो नेटवर्क भएका नेताको खेलमै सीमित रह्यो। यही कारण हो आज कांग्रेसभित्र युवाहरूको असन्तोष विस्फोटक छ। उनीहरूले खुलेर भन्न थालेका छन्, कांग्रेसमा पस्दा हाम्रो भविष्य छैन, पुरानो पुस्ताको छायामा हराउने ग्यारेन्टी छ।

सडकमा पसिना बगाउने कार्यकर्तालाई के पाइन्छ?
यो प्रश्न अब सिधैं कार्यकर्तामाथि फर्काउनुपर्छ। सडकमा प्रहरीको लाठी खाने, दलका नाममा जेल बस्ने, गाउँ–गाउँमा कांग्रेसको झण्डा बोकेर हिँड्ने कार्यकर्ताले पार्टीबाट के पाए? पद, अवसर र सम्मान? छैन। तर सत्ता भोगिसकेकाहरू राजतन्त्रकालमै सिंहदरबार छिरेका, दशकौंसम्म दलभित्र अवसर खाएर बसेका, आज पनि कांग्रेसभित्र पदमा छन्। यो नै कांग्रेसको साँचो रूप हो । आन्दोलन कार्यकर्ताको पसिनाले चल्छ, तर पद र सुविधा पुरानै पुस्ताले खान्छ।

नयाँ पुस्ताको चिहान
यदि यो क्रम यथावत् रह्यो भने कांग्रेसले आफैं आफ्नो भविष्य खनेर गाड्नेछ। नयाँ पुस्तालाई ठाउँ नदिने पार्टी लामो समयसम्म टिक्दैन। लोकतन्त्र केवल भाषणका लागि हो भने, कांग्रेस भविष्यमा केवल इतिहासको किताबमा सीमित हुनेछ। आजै परिवर्तन भएन भने कांग्रेस केवल ‘पुराना अनुहारहरूको क्लब’ र ‘नयाँ पुस्ताको चिहान’ बन्नेछ।

अब प्रश्न कार्यकर्तालाई
अब प्रश्न नेतृत्वलाई होइन, कार्यकर्तालाई हो। के तपाईंहरूको पसिना, आँसु र रगत पुरानै नेताहरूको विलासीका लागि हो ? के तपाईंहरू यही सामन्ती खेल स्वीकार गरेर बस्ने हो ? कि यो कब्जावादी राजनीतिलाई भत्काउने साहस देखाउने ? उत्तर कार्यकर्ताको हातमा छ। तर यथार्थ स्पष्ट छ कांग्रेस बदलियो भने मात्रै बाँच्छ, नत्र पुरानै पुस्तासँगै हराउँछ।

प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२  १०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update