
नयाँ दिल्ली - नेपाल र भारतबीच डोपिङ नियन्त्रणमा क्षेत्रीय सहकार्य विस्तार गर्ने उद्देश्यले एक ऐतिहासिक उच्चस्तरीय बैठक भएको छ।
भारतीय राष्ट्रिय एन्टी डोपिङ एजेन्सी (नाडा इन्डिया) को केन्द्रीय कार्यालयमा भएको संवादमा नाडा नेपालका संस्थापक संयोजक डा. असीम भण्डारी र नाडा इन्डियाका महानिर्देशक तथा सिइओ आनन्द कुमारबीच छलफल भएको हो।
उक्त भेटवार्तामा भारतले डोपिङविरुद्ध आफ्नो प्रारम्भिक संघर्ष, स्रोतको अभाव, सरकारी हस्तक्षेप, महासंघहरूसँगको विश्वासको कमी र विश्व डोपिङ नियन्त्रण संस्था (वाडा) को सदस्यता पाउनका लागि व्यहोर्नुपरेको कठिनाइको प्रसंग उल्लेख गर्यो। ‘एजेन्सी बनाउनु सजिलो हुन्छ, तर विश्वासिलो भएर काम गर्नु चुनौतीपूर्ण हुन्छ,’ महानिर्देशक कुमारले भने ।
नेपालका तर्फबाट डा. भण्डारीले विभिन्न गम्भीर विषयवस्तु उठाए । जसमा कानुनी स्वतन्त्रताको अस्पष्टता, टीयुइ (Therapeutic Use Exemption) प्रक्रियामा ढिलाइ, गैर–ओलम्पिक महासंघहरूमा सचेतना अभाव, सप्लिमेन्ट प्रदूषण, निजी लिगको अनुगमन अभाव र कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित डिजिटल निगरानी प्रणालीको खाँचो भएको भण्डारीले उल्लेख गरेका थिए।
उनले स्पष्ट रुपमा भने, ‘एन्टी डोपिङ भनेको खेलाडी समात्ने अभियान होइन, उनीहरूको सपना जोगाउने प्रणाली हो।’ उनले स्वच्छ खेलकुदलाई केवल उपकरण वा परीक्षणको विषय नभई नैतिकताको सवाल मानेको बताए ।
दुबै मुलुकले साउथ एसिया क्लिन स्पोर्ट कन्फरेन्स, दक्षिण एसियाली प्रशिक्षण केन्द्र स्थापना, अन्तरदेशीय विशेषज्ञ आदानप्रदान कार्यक्रम, पारा खेलाडी तथा ग्रामीण क्षेत्रका लागि बहुभाषिक डिजिटल शिक्षा अभियान जस्ता साझा योजनाहरू अगाडि सारेका थिए ।
नेपालका पाँच खेलाडीमा डोपिङ पोजेटिभ
यसैबीच, नेपालको भारोतोलन खेलमा एकैचोटि पाँच खेलाडीमा एडभर्स एनलाइटिकल फाइन्डिङ (एएएफ) देखिएको छ, जुन अझै सार्वजनिक रूपमा घोषणा गरिएको छैन।
वाडाको नियम अनुसार एउटा खेलाडी पोजिटिभ मात्र होइन उनीसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आबद्ध कोच, स्टाफ, संघ वा संस्थासमेत एडीआरभी (एन्टि डोपिङ रुल भाइलेसन) अन्तर्गत पर्न सक्छन्।
तर आजसम्म युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् वा नाडा नेपाल कुनै निकायले यसबारे स्पष्ट अभिव्यक्ति दिएको छैन । कोसँग प्रशिक्षण गर्ने? कसले निर्णय लिने? भन्ने अनिश्चितता अझै कायमै छ।
खेलकुदमा प्रयुक्त प्रतिबन्धित सूची केवल स्टेरोइड वा डाइयुरेटिकसम्म सीमित छैन । बरु दैनिक प्रयोग हुने रुघाखोकीको कफसिरफ वा ट्याबलेटजस्ता सामान्य औषधिमा समेत निषेधित तत्त्व हुनसक्छन्। यो अझ खतरनाक परिस्थिति हो जब एथलेट्स, कोच र संघहरूमा आधारभूत जानकारीको अभाव देखिन्छ।
नीतिगत प्रश्न: नेपाल कहिले सशक्त बन्छ?
भारतले सन् २००९ मा कमनवेल्थ खेल आयोजना गर्नका लागि स्वतन्त्र र कार्यात्मक नाडो स्थापना गर्यो। नेपाल पनि भविष्यमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने लक्ष्य राख्छ भने के हाम्रो कानुनी र संस्थागत तयारी पुगिसकेको छ? अब प्रश्न उठ्न थालेको छ । के हाम्रो नाडा, मन्त्रालय र खेलकुद परिषद् संस्थागत उत्तरदायित्वमा सक्षम छन् ? कि केवल देखाउन बनाइएका संस्थाहरू हुन्?
भारत नेपालबीचको यो संवाद केवल औपचारिक कूटनीति मात्र नबनोस् । यो साझा चेतना र कार्यान्वयनको आह्वान बनोस् । अर्कोतर्फ, एकै महासंघबाट पाँच खेलाडीमा डोपिङ भेटिनु भनेको प्रणालीमै गम्भीर कमजोरी देखिनु हो।
अब चुप लागेर बस्ने समय सकिएको छ। यदि नेपालले स्वच्छ खेलकुद चाहन्छ भने, पारदर्शिता, जवाफदेहिता र कडा कार्यान्वयन गर्नु अनिवार्य छ।