
एजेन्सी - बंगलादेश वायुसेनाको F-7 BGI प्रशिक्षण विमान सोमबार दिउँसो राजधानी ढाकाको दियाबारी क्षेत्रमा रहेको माइलस्टोन स्कूल क्याम्पसमा दुर्घटनाग्रस्त भएको छ।
अग्नि सेवा तथा नागरिक रक्षा विभागका महानिर्देशक ब्रिगेडियर जनरल मुहम्मद जाहिद कमालले दुर्घटनामा कम्तीमा २० जनाको मृत्यु भएको र १६४ जना घाइते भएको बताए।
घाइतेहरूलाई ढाका मेडिकल कलेज नजिकै रहेको राष्ट्रिय बर्न एण्ड प्लास्टिक सर्जरी संस्थान, कुर्मिटोला अस्पताल, ढाका मेडिकल कलेज अस्पताल, संयुक्त सैन्य अस्पताल र उत्तरा मोडर्न अस्पताल लगायत विभिन्न चिकित्सा संस्थाहरूमा भर्ना गरिएको छ।
सरकारी कानुनी सल्लाहकार प्राध्यापक आसिफ नजरुलले भने, ‘हामी यस घटनाबाट दुखी छौं। सरकारले मंगलबारलाई शोकको दिन घोषणा गरिसकेको छ। यसका साथै, हामी विमान दुर्घटना कसरी भयो भनेर पनि अनुसन्धान गर्नेछौं।’
माइलस्टोन कलेजका लेक्चरर रेजाउल इस्लामले बीबीसी बंगलालाई बताएअनुसार स्कूल बन्द हुन लागेको बेला दुर्घटना भएको थियो। उनले भने, ‘एउटा लडाकु विमान सिधै भवनमा ठोक्कियो। यसले नर्सरी र जुनियर सेक्सनका धेरै कक्षाकोठाहरूमा प्रहार गर्यो। विद्यालयको मुख्य ढोका पूर्ण रूपमा ध्वस्त भयो र आगो लाग्यो।’