Harsamaya
इजरायल द्वारा सिरियाली राष्ट्रपति दरबार क्षेत्रमा आक्रमण, ३ जना नागरिकको मृत्यु

इजरायल - इजरायलले  सिरियाली राष्ट्रपति दरबार क्षेत्रमा आक्रमण  गरेको छ । इजरायली युद्धका विमानहरूले बुधबार दक्षिणी सिरियाभरि आफ्नो हवाई आक्रमण अभियान तीव्र पारेका छन् । सोहि क्रममा इजरायली सेनाले सिरियाली सेनाको जनरल कमान्ड मुख्यालय र मध्य दमास्कसमा रहेको राष्ट्रपति दरबार क्षेत्रमा आक्रमण गरेको हो ।

सिरियाली स्वास्थ्य अधिकारीहरूका अनुसार दमास्कसमा भएको आक्रमणमापरी कम्तीमा तीन जना नागरिकको मृत्यु भएको छ भने अन्य ३४ जना घाइते भएका छन् । चाइना सेन्ट्रल टेलिभिजन (सीसीटिभि) का रिपोर्टर रान्ड शुक्रीले आक्रमणपछिको दृश्यको अभिलेख राख्दै सैन्य मुख्यालयबाट निस्केको धुवाँको भिडियो कैद गरेका छन् ।

इजरायली रक्षा बल (आइडिएफ) ले त्यस दिन एक विज्ञप्ति जारी गर्दै दमास्कसमा सिरियाली शासनको सैन्य केन्द्रहरूमा आक्रमण सुरु गरेको पुष्टि गरेको छ । विज्ञप्तिमा उल्लेख गरिएको छ कि दिउँसो, आइडिएफले दमास्कसको सैन्य मुख्यालय र राष्ट्रपति दरबार नजिकैको एक सैन्य लक्ष्यमा हवाई आक्रमण गरेको थियो ।

सिरियाको ड्रुज समुदायको केन्द्रबिन्दु स्वेइडामा सिरियाली सरकारी सेना र सशस्त्र ड्रुज समूहहरू बीचको युद्धविराम भङ्ग भएपछि यी हमलाहरू भएका हुन् ।

प्रकाशित मिति: बिहीबार, साउन १, २०८२  ०९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update