Harsamaya

म कलाकार हो । म सँग धेरै टाइटल छैन। मलाई कलाकारिता मनपर्छ। जुनै तरिकाबाट मैले कलाकारिता गर्न पाए त्यतिले नै सन्तुष्ट छु । यस पालि मणि कुलुङ सरले नाटकमा मौका दिनुभएको छ। म धेरै कृतज्ञ छु । मेरो बच्चैदेखि अभिनय र गीत गाउने रुचि थियो। बच्चा बेलामा कार्यक्रमहरूमा सधैँ नै डान्स गर्थे । गीतहरू गाउँदा खेरी स्लो मोसनमा सलहरू उडिरा तोरी बारेमा जस्तो अनुभूति हुन्थ्यो । त्यहाँ मैले आफैँलाई देख्थे। मलाई मन पर्ने कलाकार गौरी मल्ल हुनुहुन्थ्यो । सानोमा उहाँकै फिल्महरू हेर्थ्यौं । मैले पनि त्यस्तै गर्न पाए हुन्थ्यो भन्ने एउटा सपना थियो । तर म कुनै दिन गर्छु भन्ने चाहिँ थिएन ।  

पढ्दै गइयो। परिवारको जिम्मेवारी लिँदै गर्दा आफ्नो सपनाको पछि लाग्ने मौका पाइएन । छोरी भएर पनि होला त्यो फ्रिडम भएन । यो क्षेत्रमा त्यो समयमा छोरी मान्छेलाई राम्रो मानिँदैनथ्यो। परिवारको इज्जतलाई नाघेर गर्ने आँट आएन । साथीहरूसँग अलि अलि गीत गाउथे । अभिनयमा खाशै भएन । प्लस टू को समयमा मैले मौका पाए । नाटकहरू गरे । सर्ट मुभीहरू पनि गरे । यहीँ क्षेत्रमा लागेर करिअर बनाउँछु भन्ने भएन । त्यो सम्भावना पनि थिएन । 

Smriti-Rai-culmer-Poster-1752714887.jpg
अहिले पनि यहीँबाट करिअर बनाउँछु भन्ने छैन । संघर्ष धेरै छ । आफ्नो इच्छाले गरियो । साइडमा आफ्नो पेशाबाट जीवन चलाउदै गए । १८/२० वर्ष नै काम गरे । परिवारको लागि धेरै गरियो । अहिले परिवार सबैको राम्रो भयो । बल्ल मलाई इच्छा लागेको कुराहरू गर्न स्पेस भएको छ । एक डेढ वर्षदेखि पूर्णरुपमा मैले यसैमा समय दिइरहेको छु ।  मेरो श्रीमान पनि एकदमै सहयोगी हुनुहुन्छ । त्यसैले गर्दा म यसरी अगाडि बढ्न पाइरहेको छु । यो फिल्डमा आएर गर्छु भन्दा पनि सबैले मौका पाउँदैनन् । मैले पाइराखेको छु । विश्वास गर्नु भएको छ । विश्वास गरेर मौका दिनेहरूका लागि मेरो जहिले पनि राम्रो दिने कोसिस हुन्छ । हुनचाँहि म नयाँ पनि हुँ, पुरानो पनि छु । धेरै वर्ष भयो यो फिल्डमा काम गरेको । बीचमा ग्याप भयो । तर पनि कलाकारिताको कीरा हुन्छ नि त्यो मर्दैन रहेछ । म मा पनि त्यो जिवितै थियो अहिले मलजल पायो । त्यसले गर्दा अहिले नाटक ‘द मिसिङ डग’ मा छु । जीवनमा फेरि दोस्रो मौका पाएको छु । यहाँ आउँदा अरू कलाकार साथीहरूसँग भेट भयो हामी साथी भयौं धेरै रमाइलो लागिराछ ।
  
थिएटर गर्न गाह्रो छ । यसका लागि एकदमै ‘डेडिकेसन’ चाहिन्छ । फोकस चाहिन्छ । रिसर्च चाहिन्छ । जुन क्यारेक्टरका लागि मैले धेरै रिसर्च गर्नुपर्यो । आफ्नो बढी ल्याङ्ग्वेज, बोल्ने शैली देखि लिएर त्यो क्यारेक्टरको साइकोलोजी कस्तो हुन्छ होला ? उसले किन त्यस्तो गर्या छ होला ? हरेक कुराहरू । म रियल लाइफमा जो हो त्यो भन्दा अर्कै मान्छे । जसलाई मैले देखेको पनि छैन । मैले त्यो मान्छेको जीवन जिउनु छ ।  त्यो क्यारेक्टर निभाएको छु भने हेर्ने मान्छे पनि ‘कन्भिन्स’ हुनुपर्छ । त्यसले गर्दा प्रेसर एकदम थियो । रिहर्सलमा टाइम बिताउने कुराहरू, १०/१२ घण्टाको प्राक्टिस गर्नुपर्ने कुराहरू आफ्नो ठाउँमा त छँदैछ ।

Smriti-Rai-culmer-1752714886.jpg
टिम भइसकेपछि जति मान्छे त्यति धेरै विचारहरू हुन्छ । एकैठाउँमा भइसकेपछि कहिलेकाहीँ ठक्कर पनि लाग्छ । तर ती सबै कुरालाई नजरअन्दाज गरेर काम गरेको छौं। एकदमै मीठो बनेको छ । सुरुदेखि अहिलेसम्म नै शतप्रतिशत नै दिइरहेको छु । कतिपय ठाउँमा कमीकमजोरी त हुन्छ ।  जुन मैले नाटकमार्फत बाँचिरहेको छु त्यो त म होइन नि । जति सक्छु त्यो क्यारेक्टरमा भिज्नका लागि, उसलाई बुझ्नका लागि, त्यो जीवन बाँच्नका लागि कोसिस गरिराखेको छु । कुनै पनि ठाउँमा अलिकति गाह्रो भयो कति ठाउँमा सजिलो पनि । हाम्रो टिमका साथीहरूमाझ पाइने वातावरण छुट्टै छ । बाहिर टेन्सन भएर आएपनि यहाँ गफ गरिन्छ, म्युजिक बजाइन्छ, नाचिन्छ अनि सबै कुरा बिर्सिन्छ । स्टेजमा छिरिसकेपछि म को हुँ भन्ने बिर्सिन्छु । त्यो नाटकको चरित्रमा उत्रिन्छु । त्यो भएपछि गाह्रो हुँदैन । स्टेजमा चढ्नु अघि गाह्रो हुन्छ । चढिसकेपछि एकदम सजिलो । 

सफल अभिनय के हो भनेर मैले परिभाषित गर्न सक्दिन । त्यो सिकाइ हो । कोसिस हो । कहिले पनि एउटा राम्रो कलाकारले मैले एकदम खत्रा अभिनय गरे, यसमा सन्तुष्ट छु भनेर भन्दैन । जहिले पनि उसलाई म यो भन्दा राम्रो गर्न सक्थेँ । मैले यस्तो गर्या भए हुन्थ्यो । यसरी बोल्न सक्थेँ । यसरी हिँड्न सक्थे । त्यो नै दिमागमा लिएर हिँडेपछि कतिपय ठाउँमा त्यस्तै पात्र देखिन्छ, त्यस्तै घटनाहरू सुनिन्छ,  त्यसले चाहिँ हिट गर्छ ।  मैले एकदमै राम्रो अभिनय गर्न सक्छु जस्तो पनि लाग्दैन । कोसिस गर्छु । म आफ्नो हन्ड्रेड प्रसेन्ट दिन्छु । तर म त्यो ठाउँमा पुगिसक्या छैन कि राम्रो अभिनय भनेको यो हो है भनेर परिभाषित गर्न सकुँ । जति जानेको छु सिकाउन सक्छु आफूपनि सिक्न सक्छु ।  

(नाटक ‘द मिसिङ डग’की कलाकार स्मृति राईसँग गरिएको कुराकानीमा आधारित )
 

 

प्रकाशित मिति: बिहीबार, साउन १, २०८२  ०७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update