
मणि कुलुङ राईको बाल्यकाल खोटाङको डाँडापाखामा रमाउँदै बित्यो । रावाबेसी गाउँपालिका - ६ मा जन्मिएका उनलाई सानैदेखि समाजमा घट्ने घटनाहरूले प्रभाव पार्थ्यो । नेपाली समाजका लुकेका घटनाहरूलाई कलात्मक तरिकाले कसरी प्रस्तुत गर्ने होला भन्नेमा उनी सधैं चिन्तित रहन्थे ।
भेटनेरी टेक्निसियन पढेर त्यसैमा काम गरिरहेको राईले मिति सकिएका औषधीहरू किसानलाई बाँडेको देखेका थिएँ । त्यो देखेर उनलाई दिक्दार लाग्थ्यो । जनचेतना जगाउन खोटाङमा सडक नाटकहरू भैराख्थे । नाटक हेरिरहँदा उनलाई पनि ‘नाटक गर्छु’ भन्ने हुटहुटी जाग्यो । उनी नाटक कसरी गर्ने खोज्दै हिँड्न थाले ।
उनी कक्षा ८ मा पढ्दा गाउँमा कमलमणि नेपाल र जीवन बराल आएका थिए । उनीहरूबाट राई निकै प्रभावित भएका थिए । उहाँहरुको वर्कशप १५ दिन लिएपछि उनले सडक नाटक गरे। उनलाई सडक नाटक गर्दै गर्दा रंगमंचमा जानुपर्छ, काम गर्नुपर्छ भन्ने लाग्यो । उनको रहर पनि थियो ।
आफ्ना रहर र सपना पछ्याउँदै उनी काठमाडौं आए । चार वर्ष नाटक गरे । सुरुमा प्रोप्स बाट उनले काम सुरु गरे । डिजाइन, सेट बनाउने, प्रप्स बनाउने , प्रप्स डिजाइन गर्दै उनी अभिनयमा लागे । ६ वटा जति नाटकमा काम गरे । ब्याक स्टेजमा रहेर उनले काम गरेका दर्जन बढी नाटक छन् ।
अहिले मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक ‘द मिसिङ डग’ उनले एक्लै निर्देशन गरेको पहिलो नाटक हो । यो नाटकको कथा मौलिक हो । प्राय कल्चरल नाटक भइरहेको हुन्छ, त्यो नाटकहरूलाई कसरी ब्रेक गर्ने भनेर फरक शैली र कथावस्तुमा यो नाटक निर्माण भएको हो । उनी किराती भएकाले कल्चरल नाटक गर भनेर प्रेसर पनि थियो । तर सोलो डेब्यु गर्दा अलिकति फरक तरिकाले काम गर्छु भन्ने उनको सोचाइ अनुसार कथा खोज्दै जाँदा ‘द मिसिङ डग’ बनेको हो । यसअघि रबिन तामाङ र उनी भएर ‘मृतुकुण्ड’ नामक नाटक गरेका थिए ।
यो नाटकले के देखाउन खोजेको छ, के सन्देश बोकेको छ ?
मान्छेहरूमा एक खालको अहमता हुन्छ । जस्तै हाम्रो नेपाली समाजमा सानोको कुरा नसुन्ने, ठूलाको कुरा सुन्ने र ठूलै मान्छेको मात्र भनेको हुनुपर्छ भन्ने छ । त्यसलाई यस नाटकमा अलिकति व्यंङ्गात्मक हिसाबमा व्यंग गरेर, थोरै मज्जा गरेर सानो मान्छेहरूको कुरा सुन्नु पर्छ भनेर देखाउन खोजेका छौं । नेपालमा माथिल्लो तहका कर्मचारीहरू, माथिल्लो लेबलमा बसेका मान्छेहरू सिस्टमलाई फलो गरिरहेका छैनन् । व्यक्ति विशेष सिस्टमहरू परिवर्तन भइरहेको छ । त्यो सिस्टमहरूलाई कसरी परिवर्तन गर्न सकिन्छ भनेर नाटकमा देखाउन खोजेको छ । यो नाटकको कथा चिया पसलबाट सुरु हुन्छ । यसलाई राजनीतिक ‘इस्सु’मा उठान गरिएको पनि भन्न मिल्छ ।
कस्ता-कस्ता कलाकारहरू हुनुहुन्छ नाटकमा ?
यसमा म आफैं खेलेको छु । पुरानो कलाकारदेखि नयाँ आर्टिस्टलाई लिएको छु । नाटक नै नगरेको, ‘ब्लाक बक्स’ नै नदेखेको आर्टिस्टलाई पनि काम लगाई रहेको छु । कलाकारमा किरण नेपाली हुनुहुन्छ। उहाँ नेपाली फिल्म क्षेत्रको प्रोड्युसर नै हुनुहुन्छ। थिएटर सिकिरहेको कलाकार पनि हुनु हुन्छ। थिएटर नसिकेको र १/२ पटक नाटक हेरेको कलाकार पनि हुनुहुन्छ । हाम्रो नाटकमा ९ जना कलाकारहरू हुनुहुन्छ जसमा ३ जना नयाँ हुनुहुन्छ । कलाकारहरूमा किरण नेपाली (प्रहर), स्मृती कल्मर (तारा), रेज्मी राई (राधिका), इन्द्रेनी कुलुङ (इन्द्रेनी), रमा कुलुङ (सुकमाया), अविनाश डि. एम. (बिर्खमान), मिना श्रेष्ठ (सुरारे) र मणि कुलुङ (मौसम) मञ्चमा प्रस्तुति दिने छन्।
नयाँ र पुरानो कलाकारलाई काम गराउँदा कस्तो अनुभव भयो ?
यो खतरा रिस्क हो । तर, त्यसलाई आफूले लिन सक्नुपर्छ । एउटा माथिको मान्छे र एउटा तलको मान्छेलाई बीचमा बसेर काम गर्न रिस्क हो । कहिलेकाहीँ त टाउको भारी हुँदो रहेछ । तर काम गर्दै जाँदा त्यतिकै रमाइलो हुने । सबै जनाले मेहनत गर्नु भएको छ । हामी एक जुट भएर उत्कृष्ट दिने कोसिसमा छौं ।
दर्शकले कस्तो प्रतिक्रिया दिँदै हुनुहुन्छ ?
अहिले सम्म हामीले २/३ शो गर्यौं । आजसम्म राम्रै प्रतिक्रिया पाएका छौं । जस्तै यो नाटकमा मैले धेरै जसो बिम्बहरू खेलाएको छु । त्यो बिम्बहरू मन पराएर जानु भएको छ । डिजाइनहरू मन पराएर जानु भएको छ । आर्टिस्टको कामहरू मन पराएर जानु भएको छ । मैले प्रोजेक्टरहरू पनि प्रयोग गरिरहेको छु । संगीतहरू पनि मन पराउनु भएको छ । सबै मन पराउनु भएको छ । यो ‘टेक्ष्ट वेस’ कै ड्रामा हो । यसमा २ वटा कविताहरू छन् । अरू चाहिँ सबै टेक्ष्टले नै उठाउने ड्रामा हो ।
निर्देशन गर्ने काम कतिको गाह्रो अथवा सजिलो लाग्यो ?
यो नाटक मैले छुटै गरेको हो । मण्डलाबाट गरेको होइन । निर्देशन गर्ने काम निकै गाह्रो लाग्यो । गाह्रो सँगसँगै नयाँ मान्छे, पुरानो र नयाँको ब्यालेन्स गर्न अझ धेरै गाह्रो । अर्को रिस्क चाहिँ के थियो भने मैले सेल्स म्यानेजर, सह निर्देशक, प्रोडक्सन म्यानेजर कुनै राखेको छैन । त्यो सबै आफैँले गर्दा झन् निकै प्रेसर हुँदोरहेछ । एक हिसाबले सोच्दा गाह्रो छ । अर्को हिसाबले रमाइलो अनि सजिलो पनि छ ।
भेटनेरीमा काम गरिरहेको मान्छे किन थिएटरमा पैसा छैन भन्दा भन्दै हामफाल्नु भयो ?
यो भित्रि आत्माको कुरा हो । भित्रि मनलाई थाम्न नसकेर हो। जस्तै नसा नसामा म नाटक गर्छु भन्ने सपना छ। नसामा रगतसँग कुद्दा एउटा जोस पनि छ । पहिला त अर्कै जिन थियो होला तर रंगमंच छिरेपछि मेरो जिनमै एक खालको रंगमंच छिरिसकेको छ जस्तो लाग्छ ।
एउटा राम्रो थिएटर निर्देशक बन्न चाहने कलाकारहरूले कुन गुण अथवा शैली विकास गर्नुपर्छ ?
सबै कुरा आफू भित्र छ। आफूलाई नै निहालेर हेरेर, गहिरो तरिकाले आफूलाई खोज्यो भने राम्रो कलाकार र भोलिको राम्रो निर्देशक बन्न सकिन्छ । आफू भित्रको हरेक कुरा खोतल्न पर्छ । जस्तै शरीरको केही जेस्टर-पोस्टर देखिने बित्तिकै त्यसले केही अर्थ दर्शकमाझ दिन्छ। त्यो कुराहरूलाई मैले कसरी सहज तरिकाले गर्न सक्छु ? आफूले महसुस गरेर आफैँले सुधार गर्नुपर्छ । आफूलाई बढी खोज्ने, नेपाली समाजलाई बढी खोज्ने, नेपालीमा लेखिएका विज्ञहरूले लेखेका किताब अध्ययन गर्ने गर्नु भयो भने भोलि गएर राम्रो निर्देशक बन्न सकिन्छ । तर, हामी अरू भन्दा फरक पनि हुन् सिक्नुपर्छ ।
अन्त्यमा शोको बारेमा ?
यो ‘द मिसिङ डग’ किन हेर्नु पर्छ भन्दा एक खालको सजिलो तरिकाले उठाएको कथा । यो कथा भित्र पनि धेरै बिम्ब छ। हामी जो नेपालमा परिवर्तन चाहन्छौ, जुन चाहँदा चाहँदै पनि नपाइ रहेको अवस्था छ । तलको मान्छेहरूलाई हेपिरहेको अवस्था छ । त्यो हेपाइ फिल नहुन यो शो हेर्नुपर्छ । यो नाटकमा धेरै कुरा छन् हेर्नुपर्ने जुन अझ नाटक हेरेर बुझिन्छ। जो जो ले हेर्न बाँकी छ उहाँहरूले आएर हेर्नुभयो भने धेरै बुझिन्छ । जस्तै सानो र सहज तरिकाबाट चिया पसलबाट नाटक सुरु गरेर त्यहाँ ल्याएर अन्त्य गर्छौं । चिया पसलेहरू पनि डबल क्यारेक्टरका छन् । सिम्पल तरिकाले मान्छे आएर उनीहरूसँग कति धेरै कुरा गरिरहेका हुन्छन् । त्यो कारणले पनि प्रस्तुति हेर्नुपर्छ होला।
‘द मिसिङ डग’मा डग देख्न पाइन्छ तर अर्कै तरिकाले। त्यो तरिका हेर्न नाटक घरमै आउनु पर्छ । नाटक घरमा आएर नाटक हेर्दिनु भयो भने मिसिङ भएको डग पनि हेर्न पाइन्छ । अनि कसलाई डग बनाइ रहेको छ ? कस्तो कस्तो डग छ त्यो हेर्न पाइन्छ । यो नाटकको टिकट दर ५०० र ३०० छ । विद्यार्थीका लागि ३०० र अन्यलाई ५०० छ । यो नाटक असारको २१ बाट लागेको हो । साउन ४ सम्म मण्डला थिएटरमा लाग्नेछ ।